logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिराटनगर महानगर: मेयरमा कांग्रेसको जित


  • जन आकाश
  • आइतबार, असार २५ २०७४

बिराटनगर । शनिबार मध्यरातमा सकिएको मत गणनामा बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । मेयरमा विजयी पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७३२१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आएका छन् ।
उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले मत पाइन् । चौधरीलाई एमालेले सघाएको थियो ।
महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जनले जितिसकेका छन् । काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ । चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित निकालेका छन् ।



बिराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए । तर, एक्लै मैदानमा उत्रिएका कांग्रेस उम्मेदवार पराजुलीलाई गठबन्धन गर्नेहरुलेसमेत हराउन सकेनन् ।
महानगरका वडाहरुमा पनि कांग्रेस नै हावी भएको छ । कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, संघीय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।
मेयरमा विजयी बनेपछि पराजुलीले बिराटनगरलाई भ्रष्टाचारमुक्त शहर बनाउने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend