logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

देशैभरी पुष्पलालको सम्झना


  • जन आकाश
  • सोमबार, साउन ९ २०७४

मोहन कार्की/कुमार अधिकारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा देशैभरी कार्यक्रमहरु आयोजना भएका छन् । नेकपा (मक्र्सवादी)को केन्द्रीय कार्यालय टोखामा बाह्रौं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक अम्बिका प्रसाद थैवको अध्यक्षतामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्न खेलेको भूमिका नेपालमा नयाँ जनवादी क्रान्तिको आवश्यकता र वर्तमानसम्म आइपुग्दा विश्व साम्राज्यवादीको नयाँ योजनाअन्तर्गत कम्युनिष्टहरुलाई अन्तर ध्वंश गर्ने नीतिले नेपालको कम्युनिष्ट आन्दोलनलाई धक्का परेको स्मृति सभामा धारणा व्यक्त गर्नुभयो । नेकपा (माक्र्सवादी) पार्टीका बाह्रौं राष्ट्रिय सम्मेलन तयारी समितिका सहसंयोजक मानध्वज गुरुङले नेपाल कम्युनिष्ट पार्टीको निष्ठा, त्याग, उद्देश्य, विचार अहिले देखिएका कुनै पनि कम्युनिष्ट पार्टीहरुले पूरा नगरेको हुनाले नेकपा माक्र्सवादीले गहन भएर अगाडी बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो । साथै कार्यक्रमलाई स्वागत मन्तव्य दिनुहुँदै युवा नेता बाह्रौं राष्ट्रिय सम्मेलन तयारी समिति सदस्य मोहन कार्कीले यो देशको नेतृत्व अब युवापुस्ताहरुले गर्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी नेकपा (माक्र्सवादी) पार्टीले विभिन्न प्रदेशहरुमा पुष्पलाल स्मृति दिवस पारेर कार्यक्रम गरेको जन आकाश मिडियाका प्रतिनिधिहरुले जानकारी गराएका छन् । सिन्धुलीबाट मनिष लिम्बुले दिएको जानकारी अनुसार सिन्धुली जिल्लाको सदरमुकामस्थित उद्योग बाणिज्य संघको हलमा कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही जिल्लाका माक्र्सवादी पार्टीका नेता कार्यकर्ता आमन्त्रित विभिन्न कम्युनिष्ट पार्टीका व्यक्तित्वहरु उपस्थित भई कार्यक्रम शुरु भएको क. पुष्पलालको ३९ स्मृति दिवस तथा नेपाली जनवादी आन्दोलनमा क. पुष्पलालले योगदान विषयेक कार्यक्रमको अध्यक्षतामा बयोबृद्ध पुष्पलालको सहयात्री शेरबहादुर गुरुङ्गले गर्नुभएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै माक्र्सवादी पार्टीका लिला बहादुर श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । उक्त अवसरमा कार्यक्रम सञ्चालन गर्दै पर्शुराम प्याकुरेलले उत्कृष्ठ ढंगबाट पुष्पलालको बारेमा प्रष्ट्याउनु भएको थियो । साथै त्यस कार्यक्रमका प्रमुख अतिथि नेकपा (माक्र्सवादी) तथा राष्ट्रिय सम्मेलन तयारी समितिका सचिवालय सदस्य योगेन्द्र पराजुलीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी र पुष्पलालको भूमिका साथै आजको कम्युनिष्ट आन्दोलनमा देखिएका समस्याका बारेमा अन्य कम्युुनिष्ट पार्टीहरुसमेत पुष्पलालले देखाएको बाटो सही छ त्यो बाटोमा सबै हिँड्नुपर्ने समेत औल्याउनुभयो । कार्यक्रममा आमन्त्रित नेकपा एमालेबाट महेन्द्र देव श्रेष्ठ, माओवादी केन्द्रबाट ज्वाला प्रसाद न्यौपानेलगायत कार्यक्रममा उपस्थित भई मन्तव्य दिनुभएको थियो । कार्यक्रम जय प्रकाश नेपाल ‘भरत’को असामयिक निधनप्रति शोकसभा पनि त्यसै अवसरलाई पारेर सम्पन्न गरिएको थियो ।
पुष्पलालको स्मृति दिवस नेकपा (माक्र्सवादी) उदयपुरको खैजनपुरमा पनि आयोजन गरेको जन आकाश प्रतिनिधि श्रवण कुमार घिमिरेले उदयपुरबाट दिएको जानकारी अनुसार नेकपा (माक्र्सवादी) जिल्ला समितिका अध्यक्षले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेकपा (माक्र्सवादी)का साथै राष्ट्रिय सम्मेलन तयारी समितिका सचिवालय सदस्य गम्भीर बहादुर कार्कीले गर्नुभएको थियो । उक्त कार्यक्रममा सुनसरी, सप्तरी, उदयपुरका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको पूर्वनिर्धारित योजना अनुसार
क. पुष्पलाल र नेपाल कम्युनिष्ट पार्टी
क. पुष्पलाल र संविधानसभा
क. पुष्पलाल र संयुक्त जनआन्दोलन
क. पुष्पलाल र नयाँ जनवादी क्रान्ति विषेक
३९ औं पुष्पलाल स्मृति दिवस साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको त्यहाँबाट जानकारी प्राप्त भएको छ ।
बुटवलबाट जन आकाश प्रतिनिधि प्रज्ञा थैवले दिएको जानकारी अनुसार नेकपा माक्र्सवादी जिल्ला संयोजक तथा ३९ औं पुष्पलाल स्मृति दिवस कार्यक्रमको अध्यक्षता दामोदर भट्टराईले गर्नुभएको थियो । कार्यक्रम विहानै ७ बजेनै विभिन्न कम्युनिष्ट आन्दोलनमा सहभागी व्यक्तित्वहरु जम्मा भई पुष्पलाल पार्कमा गएर पुष्पलालको शालिकमा माल्यार्पण गरी नेकपा माक्र्सवादीको रुपन्देही जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बाम बुद्धिजीवी आरसी चापागाई आमन्त्रित नेकपा मालेबाट प्रतिनिधि पुरण के.सी, नेकपा माक्र्सवादी जिल्ला समिति सदस्य रामप्रसाद भट्टराई, राजेश थैव, शैलेन्द्र शेरचनलगायतले नेपाल कम्युनिष्ट पार्टी र पुष्पलालको बारेमा चर्चा र प्रशंसा गर्दै कार्यक्रम सम्पन्न गरेका छन् ।
सुर्खेतबाट जन आकाश प्रतिनिधि आशाराम मुडभरीले दिएको जानकारी अनुसार मध्यमाञ्चल विश्वविद्यालयको प्राङगणमा नेकपा माक्र्सवादीका नेता कार्यकर्ताहरु जम्मा भई सुर्खेत जिल्ला समितिका संयोजक नसिम बक्सको अध्यक्षतामा वृक्षारोपण गरेर पुष्पलाललाई सम्झना गरिएको सुर्खेतबाट जानकारी प्राप्त भएको छ । त्यस कार्यक्रमको प्रमुख आतिथ्य नेकपा माक्र्सवादी बाह्रौं राष्ट्रिय सम्मेलन तयारी समितिमा सदस्य विनी बहादुर शाहीले गर्नुभएको थियो ।
वीरगञ्जबाट जन आकाश प्रतिनिधि सन्तोष गुप्ताले दिएको जानकारी अुनसार ३९औं पुष्पलाल स्मृति दिवस नेपाल प्रगतिशील मजदुर संघको आयोजनामा नगवा गौदीमाई सामुदायिक धर्मशालामा शुरु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नेपाल प्रगतिशील मजदुर संघका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला संयोजक अर्जुन यादवले गर्नुभएको थियो । प्रमुख अतिथिमा नेकपा माक्र्सवादीका बाह्रौं राष्ट्रिय सम्मेलन तयारी समिति सदस्य शिवहरी तिमिल्सिनाले गर्नुभएको थियो भने पर्सा जिल्ला नेकपा माक्र्सवादीका अध्यक्ष नविन गुप्ताले मन्तव्य दिँदै पुष्पलालले नयाँ जनवादी सत्ता कार्यक्रम विना मजदुर किसानको एकीकृत क्रान्तिविना सर्वहारा मुक्ति नहुने धारणा व्यक्त गर्नुभयो भने स्वागत भाषण क. अर्चना चौरसियाले राख्नुभएको थियो । उक्त कार्यक्रम रौतहट, बारा, पर्साको संयुक्त आयोजनामा भएको थियो ।
हुम्लाबाट त्यहाँका स्थानीय सुन्दर धामीले दिएको जानकारी अनुसार नेकपा माक्र्सवादी जिल्ला समिति संयोजक दिल बहादुर शाहीको अध्यक्षतामा पुष्पलाल स्मृति दिवस मनाई कम्युनिष्ट आन्दोलनको बारेमा समीक्षा गरिएको जानकारी प्राप्त भएको छ ।
नेपालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा पुष्पलालको नेतृत्वमा भएको हो । त्यस दिनदेखि आजसम्म हिसाब गर्दा ६७ वर्षको दौरानमा त्यही नेपाल कम्युनिष्ट पार्टीको जगमा टेकेर उभिएका र पछि झ्यालबाट अन्तै गएकाहरु विभिन्न कम्युनिष्टका नाम जोडेर ७ पटक कम्युनिष्ट पार्टीहरुबाट प्रधानमन्त्री भई काम गरिसकेका छन् । मनमोहनदेखि प्रचण्डसम्म आइपुग्दा नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालको संयुक्त जनआन्दोलन नै सफल मानिएको छ तर कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार र निष्ठाको विषयमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा नै संशोधनवादीहरुको शुत्रपात भई नेपाल कम्युनिष्ट पार्टीको तेश्रो महाधिवेशनसम्म आइपुग्दा संशोधनवादीहरुको प्रकाष्ठ नै भएर फेरी पुनः पुष्पलालले २०२५ सालमा ऐतिहासिक तेश्रो महाधिवेशनमा पुष्पलालले नेपालमा नयाँ जनवादी क्रान्तिलाई अगाडी बढाउनु भएको थियो । त्यही पुष्पलालले प्रतिवेदनमा उल्लेख गर्नुभएको नेपालको अर्थनीति, राजनीति, भौगोलिक अवस्था र सामाजिक न्याय नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि मात्रै सबै सम्भव छ भन्ने पुष्पलालले अवलम्बन गरेको बाटो नेकपा (माक्र्सवादी)ले पछ्याउँदै आएको छ । त्यही भएर अन्य कम्युनिष्ट पार्टीहरुले भन्दा पुष्पलाल स्मृति दिवस नेकपा माक्र्सवादीले देशैभरी मनाएको छ ।
नेकपा एमालेको छुट्टै कार्यक्रम
नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले पुष्पलाल पार्क किर्तिपुर पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गरी फर्किनुभएको छ भने नेकपा एमालेका पूर्वमहासचिव तथा वरिष्ठ नेता माधवकुमार नेपालले पुष्पलालको गृह जिल्ला रामेछापको सदरमुकाम मन्थली पुगेर पुष्पलालको सम्झना गरेका छन् । नेकपा एमाले रामेछाप जिल्ला कमिटिको कार्यालयमा कार्यकर्ताहरुको बीचमा माधव कुमार नेपालले सम्बोधन गर्दै पुष्पलाल जन्माएको जिल्लाले नेपाल कम्युनिष्ट आन्दोलनलाई एक ढिक्का गराउन सक्ने नेतृत्व पनि रामेछापले नै जन्माउन सक्छ । यो आशा मैले गरेको छु भन्दै रामेछाप जिल्लाका कार्यकर्तालाई हौस्याउनु भएको थियो । यही अवसरमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बागलुङ्गमा एक कार्यक्रमबीच क. पुष्पलालको योगदानबारे चर्चा गर्नुभएको थियो ।
त्यसैगरी नेकपा (संयुक्त), नेकपा मालेलगायतले पनि विभिन्न स्थानमा पुष्पलाल स्मृति दिवस मनाएको जानकारी प्राप्त भएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend