जन आकाश
रोशन ज्ञवाली
काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारलेतयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको बताएका हुन् । उनले भने, ‘एकै चरणमा निर्वाचन गर्ने बारे प्रधानमन्त्री शेरबहादुर देउवाजीले पनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसक्नुभएको छ, सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम छ, हामी पूर्ण तयारी अवस्थामा छौं ।’ उनले माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले सरकार यसबारेमा गम्भिर भएर लागिपरिरहेको बताए ।
एक कार्यक्रममा बोल्दै उनले एकै चरणमा निर्वाचन गराउँदा राम्रो हुने समेत बताए । उनले थपे,‘एकै चरणमा निर्वाचन गराउँदा खर्च कम लाग्छ, त्यसैले प्रधानमन्त्रीजीले निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको हो, यसबारेमा आयोग पनि सकारात्मक छ, अन्य पार्टीहरुसँग पनि सर–सल्लाह गरेर एकै चरणमा निर्वाचन गराउने गरि छिट्टै मिति घोषणा हुन्छ, सोहीअनुसार सरकार तयारी अवस्थामाछ, सरकारले चाह्यो भने किननहुनु ?निर्वाचन एकै चरणमा गर्न संभव छ ।’
त्यस्तै उनले राजपालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि सरकारले ईमान्दार प्रयास गरिरहेको जनाए । उनले भने, ‘राजपालाई पनि निर्वाचनमा सहभागी गराउन सरकारले पहल गरिरहेको छ, असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उहाँहरुलाई सहभागी गराउन हामी ईमानदार भएर लागि परेका छौं।’ राजपाकै मागबमोजिम सरकारले नीतिगत रुपमा संशोधन प्रस्ताव सदनमा पेश गरेको स्पष्ट पारे ।
मन्त्री गौतमले भने, ‘हामीसँग संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई मत छैन, त्यसैले प्रस्ताव भोटिङमा गए यसको रिजल्टलाई सबैले स्विकार गर्नुपर्छ ।’
त्यस्तै उनले नेपाल कृषिप्रधान देश भएकोले सिँचाई व्यवस्थालाई सुदृढ गर्न आफू गम्भिर भएर लागिपर्ने समेत विश्वास दिलाए । उनले सिँचाईसम्बन्धी योजना धेरै वर्ष पूरानो भएकोले आफ्नो प्रथम योजना नै सिँचाईसम्बन्धीनयाँ मास्टर प्लान ल्याउने विश्वास दिलाए ।
मन्त्रीगौतमले भने, ‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयन गर्नु मेरो पहिलो प्राथमिकता हो।’ उनका अनुसार बबही, भेरी, सिक्टा र रानीजमारा सिँचाई आयोजनाहरुलाई समयमै कार्यान्वयन गर्नको लागि आफू गम्भिर रहेको जनाए । ‘म त बर्दियाको मान्छे, भावानात्मक रुपमा पनि म यस्ता सिँचाई आयोजनाहरु सँग जोडिएको छु, अब साना तथा मझौला आयोजनाहरुलाई समेत अघि बढाउनेछु, उनले थपे, ‘अब कृषि उत्पादनलाई समेत अघि बढाउने मेरो प्राथमिकता छ ।’
कृषिलाई उद्योगको रुपमाविकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए । उनले थपे,‘अन्तर मन्त्रालय समन्वय गरेर खासगरि कृषि, स्थानीय तथा वातावरण मन्त्रालयवीच एकीकृत रुपमा यसबारेमा छलफल गरेर अघि बढ्नुपर्छ।’
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend