जन आकाश
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले मेलम्चीको खानेपानी आगामी पुसभित्र काठमाडौं आउने बताएका छन् । यसअघि असोजभित्र काठमाडौंवासीलाई मेलम्चीको पानी उपभोग गराउने लक्ष्य थियो । तर, प्राविधिक कारणबस असोजभित्र ल्याउन नसकिने मन्त्री यादवले बताए । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउनेछन्, हामीले असोजभित्रै ल्याउने भनेका थियौं, तर केही प्राविधिक समस्याका कारण संभव भएन, अब पुसको पहिलो हप्ताभित्रै ल्याउने रणनीति बनाएका छौं ।’
प्रचण्ड नेतृत्वको सरकारले दशैं अघि नै मेलम्चीको पानी काठमाडौं ल्याइर्पुयाउने लक्ष्यअनुसार कामलाई तीव्रता दिएको थियो । तर, दशैं अघि नै पानी ल्याउन नसकिने मन्त्री यादवले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा मेलम्चीको पानी काठमाडौंबासीले उपभोग गर्न पाउने बताए । स्वर्गीय कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको पालामा मेलम्चीको पानी काठमाडौं ल्याउने योजना अनुसार काम सुरु गरिएको थियो । ‘उहाँले (स्व. कृष्णप्रसाद भट्टराईले) सोचेको कुरा अब चाँडै पूरा हुँदैछ, सकेसम्म चाँडै ल्याउने तयारी थियो, असोजभित्रै ल्याउने भनिएको थियो तर केही प्राविधिक कठिनाईका कारण ढिलाई भएको हो, अब केही दिनभित्रै हामी यसको बारेमा मन्त्रालयमार्फत जनतासामू धारणा सार्वजनिक गर्छौं,’ मन्त्री यादवले भने ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend