जन आकाश
बर्दिया । शुक्रबारदेखिको अविरल वर्षाले बबई तथा मान नदी,ओराई खोला लगायतमा आएको बाढीबाट डुबानमा परि ७४हजार जनता प्रभावित भएका छन् । प्रभावित मध्ये ४ हजार ३सय ८८ घरपरिवारका २४हजार ५सय ७४ जनता विस्थापित भएका छन् ।
बाढीका कारण १३ हजार ३ सय ६२ घरधुरीका ७४ हजार ३ सय २७ जनसंख्या प्रभावित बनेकोमा आइतबार सांझसम्मको तथ्यांक अनुसार २ हजार १सय ७३ घरमा पुर्ण र ८ हजार ९ सय ६२ घरमा आंशिक क्षति पुगेको जिल्ला आपताकालिन सुचना केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
बाढीका कारण मृत्यु हुनेको संख्या ३ र घाईतेको संख्या ४ पुगेको छ ।
शनिबार रातिदेखिको झरीले घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका–२ सत्ताघरुवाकी ७० वर्षीया साउनी थारुको ज्यान गएको छ ।
स्थानीय ओराली खोलमा आएको बाढीका कारण शनिवार बिहानदेखि बेपतmा बार बर्दिया नगरपालिका वडा नम्बर १० गन्धर्व टोलका राजेन्द्र चौधरी आईतवार दिउसो बबई नदीको जब्दीघाटमा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै ठाकुरबाबा ५ खोनपुरका ६० बर्षीय गोविन्द थारुको पनि बाढीले बगाएर ज्यान गएको छ । बाढीका कारण नष्ट भएका भौतिक संरचना र मरेका पशु चौपायाको भने रेकर्ड आउन बांकी नै छ ।
बबई नदीमा आएको बाढीले बर्दियाको गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिकाका अधिकांश भुभाग डुबानमा परेका छन्। डुबानमा परेकालाई नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी,स्थानीय विपत व्यवस्थापन समितिका सदस्य, तालिम प्राप्त रेडक्रस स्वयमसेवकहरुद्धारा उद्धार गरि सुरक्षित क्षेत्रमा राखिएको छ । ४३ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताउनु भयो । नेपाली सेनाले डुङ्गा मार्फत पनि उद्धार गरेको छ । उनीहरुलाई स्थानीय विद्यालय, सामुदायिक भवन तथा सडकका किनारमा राखिएको छ । मानिसहरु अझै पनि छतमा वा माथिल्लो तलामा बस्ने वा डुवानमा नपरेका स्थानका आफन्तहरु कहाँ शरण लिइरहेका छन् । पानी पर्न छाडेपछि विस्तारै पानीको सहत घट्न थालेको छ ।
बबई नदीमा पानीको बहाव बढेकाले पूर्व–पश्चिम राजमार्ग ,गुलरिया नेपालगंज सडकखण्ड जलमग्न हुदा बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुंदा नेपालगंज गुलरिया सडकखण्डको शीतलाबजारमा सयौ यात्रुहरु अलपत्र परेका छन् ।
जिल्ला प्रकोप उद्धार समितिले तत्काल तयारी खानाको लागि स्थानीयतह मार्फत व्यवस्थापन मिलाइएको बताउदै विषयगत क्षेत्र सवैलाई विपद प्रतिकार्यका लागि तयारी अवस्थामा रही सहयोग गर्न आग्रह समेत गरेको छ ।
जिल्ला दैविप्रकोप उद्धार समितिले ववई नदि जलासय वरपरिका सवै टटीय क्षेत्रकावासीन्दालाई उच्च सर्तकताअपनाउनअपिल गरेको छ । डुवान कायमै रहेकोले स्कूल, सरकारी तथा नीजि कार्यालयहरु र कलकारखानाहरु बन्दै रहेको छ ।
गुलरिया नगरपालिका भएर बग्ने बबई नदीको बहाव उच्च भएपछि पानी वस्तीमा प्रवेश गरेकाले गुलरिया नगरपालिकाका अधिकाश ठाउहरु जलमग्न भएका छन् । बालापुर, सन्तोषी टोल मानुभक्त टोल, भैसाही, थपुवा, लटकनिया, पर्सिया, बिद्युत टोल, रत्नापुर, महिजिदीया, बालापुर, सूर्यगौडी, ईन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुरलगायतका क्षेत्रमा बाढीको पानीले जलमग्न गरेको छ । बाढीका कारण बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको जिल्ला अस्पताल समेत डुवानमा परेको छ ।
भुरीगाउँ, बाँसगढी, मगरागाडि, ठाकुरद्धारा लगायतका मुख्य बजार पनि जलमग्न भएका छन । सदरमुकाम गुलरियाको संगम बस्ती, बालापुर, मस्जीदीया, खैरापुर लगायतका स्थानमा बाढीमा फसेकालाई उद्धार गर्न नसकिएपछी हेलोकप्टरबाट उद्धारका लागि आग्रह गरीएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार करिव २ सय घर परिवारलाई उद्धार गर्न हेलीकप्टर मांग गरीएको हो ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि पशु पंक्षी विकास मन्त्री सन्तकुमार थारु र सांसद मानबहादुर थारु बर्दिया आईपुग्नु भएको छ । बर्दियामा बाढीबाट हजारौँ नागरिक प्रभावित भएकोले वस्तुस्थिति बुझन, राहत र उद्धार कार्य प्रभावकारी बनाउन उहाहरु बर्दिया आउनु भएको हो ।
गुलरिया नगरपालिकाका मेयर मुक्तीनाथ यादव तथा कार्यकारी अधिकृत रुरामचन्द्र पौडेलले पनि बाढी प्रभावितहरु स्थानहरुको भ्रमण गरि बाढी प्रभावितहरुको अवस्था बारे जानकारी लिनु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend