जन आकाश
बर्दिया । आधुनिक प्रविधिको माध्यमबाट सबै बिषयवस्तुमा जानकारी दिलाई युवा तथा बालबालिकाको बौद्धिक विकास गराउदै आएको कालिका सामुदायिक पुस्तकालयले बढैयाताल गाउपालिकाका नव निर्वाचित जनप्रतिनिधि, संचारकर्मी, शिक्षक तथा खेल प्रशिक्षकलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
१८औं अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रमको समापनमा अवसरमा कालिकाको स्याउली बजारमा आयोजित कार्यक्रममा बढैयाताल गाउपालिकाका नव निर्वाचित अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष दीपा गौतम, वडा नं ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष कान्छु थारुलाई स्वागत तथा सम्मान गरिएको हो ।
सोही कार्यक्रममा युवाहरुको हक र अधिकार प्रर्वद्धनमा विशेष योगदान पुरयाएकोमा प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे, फुटबल संघका जिल्ला अध्यक्ष अजित तिवारी, बिद्याज्योति माविका प्रधानाध्यापक भक्तिसागर रेग्मी, जिल्ला युवा समितिको कार्यालय प्रमुख नीलकण्ठ रेग्मीलाई सम्मान गरिएको हो ।
कालिका सामुदायिक पुस्तकालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद गौतम, सल्लाहकाहरुद्वय टुकराज घिमिरे तथा गोपी पराजुलीले खादा ओढाएर सम्मान गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै बढैयाताल गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले कालिका सामुदायिक पुस्तकालयलाई बढैयाताल गाउपालिकाको केन्द्रिय नमुना पुस्तकालयको रुपमा विकास गर्न गाउपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend