logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रहरीको निष्कर्षः सरद गौचनको हत्यारा मनोज समूह


  • जन आकाश
  • बुधबार, असोज २५ २०७४

काठ्माण्डौं, २५ असोज २०७४



निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको मुटु बानेश्वरमा गोली हानेर हत्या आपराधिक समूह मूलतः मनोज पुनको रहेको ठम्याइ प्रहरीको छ। प्रहरीले घटनामा लोप्साङ लामा तथा समिरमान बस्नेत समूहले पुनको समूहलाई सहयोग गरेको पनि बताएको छ।

गौचनलाई मात्र होइन पुनको आपराधिक समूहले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, काभ्रेका दावा लामालाई पनि हत्या गरेको दाबी गरेको छ। यद्यपी, यसबारे अझै अनुसन्धान भने जारी छ।

हत्याकाण्ड अनुसन्धान गरिरहेका एक प्रहरीका अनुसार यी तीनवटै हत्याका चरित्र, आयाम र घटनामा प्रयोग भएका ‘सुटर’हरुको प्रकृति उस्तै उस्तै देखिएको छ। घटनापछि हत्या स्विकार्ने ट्रेन्ड, अभियुक्तहरु पृष्ठभूमी र ‘कनेक्सन’का आधारमा पनि प्रहरी यी तीन वटै घटनामा पुन समूह सक्रिय रहेको निश्कर्षमा पुगेको हो।

गौचन हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले विषेश ब्युरोमा कार्यरत एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ। ‘अनुसन्धान अझै अगाडि बढ्ने छ’ एक प्रहरी अधिकृतले भने, ‘यसबारे निकट भविष्यमै प्रहरीले थप तथ्य बाहिर ल्याउने छ।’

को हुन मनोज?

व्यवसायी तथा एमालेको भातृसंगठन युवासंघ नेपालका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या गरेर चर्चामा आएका मनोज पुन विगतमा सोही संगठनमै आबद्ध थिए। रुपन्देहीको देबदह निवासी पुन केही समय युथ फोर्सको क्षेत्रीय कोषाध्यक्ष थिए। ठेक्का पट्टाको काम गर्दथे। संगठनमा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने काम जारी नै राखेका थिए। युथ फोर्सको आडमा गुण्डागर्दीको काम गरेको अरोपमा पुन कारबाहीमा परे।

दुर्गा तिवारीसँग लेनदेनमा कुरा नमिलेको र त्यसबाट उनीहरुको दूरी बढेको पनि चर्चा हुने गरेको थियो। संगठनबाट बाहिरीएपछि उनले तिवारीलाई नै पहिलो निशाना बनाए। हत्या हुनु केही महिना अघि २०७२ फागुनमा पनि दुर्गामाथि गोली प्रहार भएको थियो। त्यसबेला उनी बच्न सफल भए। २०७३ पुसमा भएको गोलीप्रहारबाट तिवारीको मृत्यू भएको थियो।

पुनले परिचालन गरेका भनिएका १८ जना पक्राउ तर रोकिएन अपराध
पछिल्लो पटक पक्राउ परेका शुसान्त लाकौल सहित मनोज पुनबाट परिचालित भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरिसकेको छ।

दुर्गा तिवारीको हत्यापछि ६ जना र त्यस अघि फागुनमा तिवारीलाई गोली प्रहार हुँदा ८ जना पक्राउ परेका थिए। बाँकी अरु घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका हुन्। पक्राउ परेका सबै थुनामा छन्।

पुनका अरु पनि सहयोगीहरु अहिले अपराध कर्ममा क्रियाशिल भएकाले प्रहरीले उनीहरुलाई ‘लेन्स’भित्र राखको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मुकुन्द मरासिनीले डेढ महिना अघि मात्र नेपालखबरसँग भनेका थिए ‘पुनले परिचालन गरेकाहरुमध्ये धेरैलाई हामीले पक्राउ गरिसकेका छौँ। अरु पनि उसका सहयोग भएको भए पनि अब उसको प्रभाव कमजोर बनेकोछ।’

गिरोहमा आबद्ध धेरैलाई पक्राउ गरेको प्रहरीले दाबी गरेपनि गिरोहका नाइके पुनलाई पक्राउ गर्न प्रहरीले सकेको छैन। उनी भारतका विभिन्न ठाउँ र मलेसियासम्म पुग्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ।

                                                                                                                     (संवाददाता – श्रवण कुमार घिमिरे)

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend