logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

यस्तो हुन्छ भाइटीकाको विधि


  • जन आकाश
  • शनिबार, कार्तिक ४ २०७४

कात्तिक ४, २०७४
प्रचलित पात्रोमा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक उल्लेख गरिएको पाइन्छ। यसैले तिहार पनि कागतिहारमा शुरु भएर भाइटीकाका दिन सकिने बताइन्छ।



कृषि पशुपालन र व्यापारसँग सम्बन्धित रहेर कृष्ण चतुर्दशीदेखि शुक्ल प्रतिपदा तीन दिनसम्म उत्सव मनाउने परम्परा हो। चतुर्दशीदेखि नै गाउँघरमा तोरण टाँगेर, दीपावली गरेर उत्सव मनाउने औँसीका दिन दीपावली लक्ष्मीपूजा गर्ने र प्रतिपदामा कृषिसँग सम्बन्धित गाई–गोरु र गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ। यद्यपि तिहारको विशेष दिन लक्ष्मीपूजा हो।

पुराणहरूमा तिहार विशेषगरी तीन दिनको भएको र भ्रातृद्वितीया छुट्टै पर्व भएको बताइएको छ। तिहार वा यमपञ्चकको अन्तिम दिन भनिएको भ्रातृद्वितीया नितान्त फरक पर्व हो। दीपावलीअन्तर्गत भातृद्वितीया पर्दैन। तिहारलाई दीपावलीका रूपमा मनाइने भारतमा लक्ष्मीपूजा, गाई–गोरुपूजा र गोवर्धनपूजाको विधान उही हो। तर कार्तिक शुक्ल द्वितीयालाई ‘भ्रातृद्वितीया’ वा ‘भरद्वितीया’का रूपमा मनाइन्छ। नेपालकै तराई मधेशमा दीपावली छुट्टै र भ्रातृद्वितीया कतै भरद्वितीया, भइयादुज आदि नामले चिनिन्छ।

भाइटीकाको अर्थ

संस्कृत ‘भ्रातृ’ शब्दले दाजु र भाइ दुवैको प्रतिनिधित्व गर्छ, ‘भगिनी’ शब्दले दिदी बहिनी दुवै जनाएजस्तै। पौराणिक पर्व भ्रातृद्वितीया पनि अपभ्रंश भई भाइटीकामा परिणत भएको बुझिन्छ। भारत र नेपालकै तराई क्षेत्रमा भरद्वितीया वा भइयादुज नामले मनाइन्छ। काठमाडौंको नेवार समुदायले मनाउने किजापूजाको अर्थ पनि भाइ (दाजु)को पूजा नै हुन्छ।

भाइटीकाको विधि

सबेरै उठी स्नान गरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्ने पर्व, भाइटीका। शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तक (पृ.७२२\२३) अनुसार यमुना नदीमा नुहाई यमको पूजा गर्दा यमलोक देख्नुपर्दैन भन्ने वचन पद्मपुराणमा पाइन्छ। विधिविधानमा विविधता भए पनि सार एउटै हो, यम र यमुनाको प्रसंग। दिदीभाइको दाजुबहिनीको पूजा। स्कन्दपुराणमा दिदीबहिनी र दाजुभाइले यस दिन गर्नुपर्ने विधानबारे उल्लेख पाइन्छ।

यस दिनका लागि दिदीबहिनीले दाजुभाइलाई निम्तो गर्ने वा नगरे पनि दाजुभाइ दिदीबहिनीको घर जाने उनीहरूले बनाएको भोजन गर्ने विधान छ। यस्तै दाजुभाइलाई श्रृंगार गरी टीका माला लगाइदिने पानमसला, आफ्नो हातबाट बनेका मिष्ठान्न, ऋतुअनुसारका फलफूल दिने गर्छन्। यस्तै दाजुभाइले गच्छेअनुसार दक्षिणा वा उपहार दिने चलन छ। यसो गर्दा दुवैलाई दीर्घायु सुख समृद्धि प्राप्त हुने उल्लेख छ।

पूजाको विधान

पुराणमा यस दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ। हिन्दु परम्परामा जन्मदिनमा दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्ने विधान छ। तर यस दिन दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्छन्। सूर्यपुत्र यम (राज) मृत्युका देवता भइहाले। उनीसँग पनि दाजुभाइको दीर्घायुको आग्रह त गर्नु परिहाल्यो। यमुना उनकी बहिनी। उनै दाजुबहिनीको प्रसङ्गबाटै भ्रातृद्वितीया पर्वको सन्दर्भ आएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend