logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बहुविवाह गर्ने दम्पतीलाई गाउँ निकाला


  • जन आकाश
  • आइतबार, पुष १६ २०७४

काठमाडौं । मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको समाचार प्राप्त भएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो । स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो। दिनेश ठाकुर एमाले रंगेली नगर कमिटीका अध्यक्ष हुन् ।
विवाहित जोडीलाई चरम अमानवीय यातना दिएको अरोपमा प्रहरीले रंगेली–५ आँपगाछीका कुलानन्द, गोवद्र्धन, जयप्रकाश, रञ्जितकुमार, सतिश र मायानन्द ठाकुरलाई शुक्रबारै पक्राउ गरेको छ । कुटपिटको अगुवाइ गर्ने एमाले नेता ठाकुर भने फरार भएका छन् । ठाकुरदम्पतीलाई गाउँ निकाला गरेको सूचना पाउनासाथ ६ जनालाई पक्राउ गरेको, तर नेता ठाकुर भने फरार रहेको बताइएको छ । पक्राउ परेका सबैलाई कुटपिट र सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिने भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई आफन्तले उपचारका लागि भारत लगेका छन् । विवाहित महिला भने स्थानीय अस्पतालमा उपचारपछि प्रहरीको सुरक्षामा माइतमै बसेकी छिन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend