जन आकाश
नुवाकोट । नेपालकै पहिलो र एक मात्र गोरु जुधाई प्रतियोगिता नुवाकोट जिल्लाको तार्केस्वर गाउपालिकामा हुने भएको छ । १५० बर्ष पहिलेको ऐतिहासिक गोरु जुधाई प्रतियोगिता नेपालकै पहिलो र एक मात्र प्रतियोगिताको रुपमा प्रख्यात रहँदै आएको छ । ऐतिहासिक रुपमा यो मेला मनाउँदै आएता पनि केहि बर्षयता यस मेलालाई एक छुटै समिति बनाई व्यवस्थित रुपमा मनाउँदै आइएको छ ।
माघे सक्रान्तिका दिन अर्थात माघ १ गतेका दिन यो मेला लाग्ने गरेको छ । जहाँ यस दिन हजारौ दर्शकको भिड लाग्ने गरेको छ । तारुकाका बासिन्दा माघ १ गतेका दिनलाई दशैँ तिहार जस्तै महान पर्ब जसरी नै मनाउने गरेका पाईन्छ । त्यस दिन देश बिदेश मा रहेका दाजु भाई तथा दिदी बहिनीहरु आ–आफ्नो घर फर्खि आफन्त जनसगँ भेटघाट गर्ने तथा गोरु जुदाईका मनोरम मेला हेरेर मनाउने प्रचलन रहेको छ । माघे संक्रान्तिसँगै मनाउने पर्व धेरै छन् । माघे संक्रान्ति विभिन्न समुदायले आफ्नो ठूलो पर्वको रुपमा मनाउने गर्छन । पछिल्ला केही बर्षमा भने संस्कृति नै बनेको छ नुवाकोट तारुकाको गोरुजुधाई जात्रा । नुवाकोट, धादिङ, रसुवा र राजधानी काठमाडौँलाई समेत माघेसंक्रान्ति पर्व भन्ने वित्तिकै तारुकाको यो गोरुको घमासान घम्साघम्सीको मनोरञ्जन लिने कुराले परिचित गराइसकेको छ ।
अघिल्ला वर्षका यी तस्बिरमा गोरु जुधाइको घम्साघम्सी हेर्ने जम्मा भएको दर्शक र जात्राको रौनक देख्न सकिन्छ। चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारुकामा गोरु जुधाई मेलालाई भव्य रुपमा मनाउने गरिन्छ । गोरु जुधाइनै तारुकावासीको पहिचान र नेपालीहरुकै सुन्दर संस्कृतिको रुपमा स्थापित भएको छ ।
यो गोरु जुधाई भिन्न, नौलो र रोचक छ । नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने यो गोरु जात्रा फरक नमुनाको रुपमा लिने गरिन्छ । गोरु जात्राले नुवाकोटको आन्तरिक एवं वाह्य पर्यटनमा बृद्धि भएको छ । गाउँका अजंगका (ठूला र बलिया) साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगितालाई तारुकामा पर्ने चन्दनी कटरबोटमा विगत एक सय ५० वर्षभन्दा लामो समयदेखि स्थानीयहरुले निरन्तर मनाउदै आएका छन् ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलो पटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बयोबृद्धहरुको भनाई छ । जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् ।
तारुकाको गोरुजात्रा मेला नुवाकोटको मात्र नभई नेपालकै मौलिक साँस्कृतिक परम्पराको सम्पति भएको छ । आफुले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदी पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहेको छ ।
गोरु जुदाई मेलालाई प्रचार प्रशार गरि आन्तरिक एवम् बाह्य पर्यटकलाई यथोचित सम्प्रेषण गर्न सकियो भने पर्यटन प्रर्वद्धन सिघ्र रुपमा हुने सम्भावना रहेको छ । तारुकाको बुलफाइट हेर्न जानको लागि काठमाडौंबाट दुईवटा रुट प्रयोग गर्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend