logo शनिबार, साउन ९ २०८३ | Saturday 25th July 2026

नारायणगढ–मुग्लिन सडक आजबाट बन्द


  • जन आकाश
  • मंगलबार, पुष १८ २०७४

चितवन । आज रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात बन्द हुने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको बताइएको छ ।



नारायणढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीलाई दासढुंगाको मानवबस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिने छ । यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ । काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिन बजार र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । तनहुँतर्फबाट आउने सवारीलाई पुलपारि नै रोक्ने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले आज सूचना जारी गरी सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सडक बन्द हुने समय मिलाई आवतजावत गर्न आग्रह गरेको छ । सूचनामा काठमाडौँबाट छुट्ने बस र साना सवारीलाई राति १० बजेभित्र मुग्लिन बजार पार गर्ने गरी आउन भनिएको तथा मुग्लिनतर्फ जाने सवारीलाई बिहान ३ बजे रामनगर पार गर्ने गरी समय व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ आउने मालवाहक ट्रकलाई राति ९ बजेभित्र लेवाटार पार गर्ने गरी सञ्चालन गर्न आग्रह गरिएको छ । अन्यथा ती सवारी लेवाटारमा रोकिनेछन् । मुग्लिनतर्फ जाने ट्रकलाई राति ९ बजेपछि रामनगरको भतेरी जंगल इलाका पार गरिसक्न आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend