जन आकाश
नयाँ नेपाल कसरी बन्दैछ ?
सडकहरुको विजोग ।
हस्पिटल, पुल, अस्तव्यस्त ।
स्कुल, क्याम्पसहरुको बजेट सञ्चालक समिति र दलहरुको भागवण्डा गरिखाने थलो ।
भूकम्पबाट लडेका संरचना अझै उठ्न सकेनन् ।
मेलम्ची खानेपानी आयोजना कथामा सिमित बन्दैछ ।
जनप्रतिनिधि भनिएकाहरु आफ्नै जोड घटाउमा ।
जलविद्युत आयोजनाहरु कागजमै सिमिति ।
स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ महिना बितिसकेको छ । नयाँ जनप्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि सम्पन्न भइसकेको छ । तर विकास निर्माणका कामहरु भने कछुवा गतिमा घिस्री राखेका छन् । चिल्लो पिचमा गाडी गुडाउने, सफा शहर, राम्रो गाउँघर नेपालीहरुको चाहना अहिलेसम्म पूरा भएको छैन । राजनीतिक पार्टीहरुले २०६३ को जनआन्दोलन पछि नयाँ नेपालको नारा दिएको ११ वर्ष भइसकेको छ । त्यो नयाँ नेपाल नव निर्माण शब्द ११ वर्षे जवान भइसक्यो तर नकाहिँ जनताले सोचेजस्तो बाटो बन्यो, नकाहिँ हस्पिटल बन्यो, नकाहिँ स्कुल, कलेज बने, काँहि केही पनि बनेनन् बरु २०६३ पछि सत्ताको रस लिन पाएका महत्वपूर्ण मन्त्रालय सम्हालेका नेताहरुको आलिसान महलहरु नयाँ बनेकाछन् यसरी बन्दैछ हाम्रो नेपाल ।
सडकहरुको विकाशमा देखिएको भ्रष्टाचार काले र गोरे भर्खरको थोरे मिलेर झ्वाम पार्दै लथालिङ्ग पारेका छन् । विगतमा काँग्रेस र एमालेमात्र मिलेर गाविसको बजेट झ्वाम पार्थे अहिले अर्को नवआगन्तुक माओवादी केन्द्रसमेत थपिएको छ । शहरमा काँग्रेस, एमाले, माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत भएकाहरु ‘ए’ क्लासका ठेकेदार हुने र तोकेको समयसम्म कुनै काम नगर्ने तोकेको समय सकि सकिएपछि एउटा वाहान बनाएर सयम थप्ने, लागत पनि थप्ने त्यो कमिशनको चक्करमा शहरवासीहरुलाई धुलो ख्वाएर अस्वस्थ बनाउने काम भइरहेको छ । त्यसमा राजनीतिक पार्टी, न्यायलय समेत जोडिएको छ किनकी राष्ट्रिय सडकहरु निर्माणका विषयमा सर्वोच्च जस्तो निकायले ढिलो गरी निर्णइ गर्ने र फेरी पुनः बजेट थप्ने, कमिशन खाने चक्करमा समय पनि थप्ने त्यो देख्दा स्थानीयले विवरोध गरे जस्तो देखिने तर पछाडिबाट राजनीतिक पार्टीहरुको कमिशन नमिल्दा विकास निर्माणका कामहरु अवरोध हुने त्यसैगरी पहिलाका गा.वि.स. अहिलेका गाउँपालिका वडाहरुमा पनि आएको बजेट काले–काले मिलेर खाउँ भाले भन्ने उखान जस्तै भएको छ । आएको बजेट जुन वर्षको पनि सडक बनाउने नाममा खर्च गर्ने त्यो सडक, हिउँदमा बनाउने र बर्षामा पानी आउँदा बनाउने र पुन अर्को वर्ष फेरी सुधार गर्ने नाममा कुम्ल्याउने प्रबृत्ति व्याप्त देखिन्छ । यहाँ सडक बनाउनु हुँदैन भन्न खोजिएको होइन सडकहरुको दूरअवस्था धुलोले गाउँका जनतालाई समेत क्याम्सर रोग बढाउने र सडक बनाउँदा दीर्घकालीन सोच नराखी बनाउने र देशका अधिकाँश जिल्ला धुलाम्मे भएको छ ।
हस्पिटल, पुल, देशका संवेदनशील विषय हुन् । तर नेपालका बन्नुपर्ने हस्पिटलहरु तोकेको समयमा सम्पन्न नभएर लथालिङ्ग अवस्थामा देखिन्छन् , अस्ति भर्खरै मात्र जाजरकोटमा समयमै औषधी नपाएर दर्जनौ जाजरकोटेलीहरुले ज्यान गुमाएका छन् भने पुलहरु त झनै बीचमा खम्बा ठड्याएर राखिएको बर्षौ भइसकेको हुन्छ तर जनता पुलमाथिबाट आज त बन्ला, भोलि बन्ला भन्दाभन्दै जुग गइसक्छ पुल बन्दैन यो अवस्थामा पुलहरु हुन् ।
स्कुल, क्याम्पसहरुको बजेट प्रत्येक बर्ष शिक्षा मन्त्रालयबाट शिक्षा विभाग हुँदै जिल्लामा जान्छ तर त्यो बजेट स्कुल कलेजका सञ्चालक समितिका पदाधिकारी र टाठाबाठा राजनीतिक दलका प्रतिनिधिहरु मिलेर त्यो पनि झ्वाम पारिरहेको पाइन्छ । र, स्कुल क्याम्पसहरु जिर्ण अवस्थामा छन् भने २०७२ को महाभूकम्पबाट क्षतविक्षत भएका भवनहरु अहलिे सम्म पुनः निर्माणले गति लिन सकेको छैन । यसको मूख्य कारण सञ्चालक समितिहरुको भागवण्डानै हो भन्ने भनाई विभिन्न ठाउँका सम्बन्धित स्कुलका शिक्षक, विद्यार्थी, स्थानीय जनताको भनाई रहेको छ ।
त्यसैगरी भूकम्पबाट क्षतविक्षत भएका पुरातात्विक, सांस्कृतिक सम्पदाहरु, मठ मन्दिर, गुम्बा, मज्जिदहरुको निर्माण अझै धिमा गतिमा छ । सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा पुरातात्विक विभाग तथा प्रशासनिक झन्झटको कारण ढिला बनेको ती सम्पदा निर्माण जिम्मा लिएका कम्पनीहरुले जनाएका छन् । लाजमर्दो विषय काठमाडौं केन्द्रमा रहेको धरहरा, रानीपोखरीलगायत सम्पदाहरु विभिन्न बाहनामा अहिलेसम्म काम शुरु गर्न नसक्नुले महानगरका बासिन्दाहरु आक्रोशित देखिन्छन् । त्यतिमात्र होइन काठमाडौंको खानेपानी समस्यालाई समाधान गर्ने अचुक उपायको रुपमा मेलम्ची खानेपानी आयोजना दशकौंसम्म सम्पन्न बनाएको छैनन् जसको कारणले शहरमा रहेका गरिब, विपन्न वर्गले सफा खानेपानी र पानीको अभावमा सुकिलो पोशाक लगाउन पाएका छैनन्, जसको कारणले विभिन्न खालका रोगको प्रकोप उत्पन्न भई ती गरिब, दुखीहरुलाई झनै पीडामाथि पीडा थपिँदै गएको देखिन्छ । तर मेलम्ची खानेपानी आयोजनासँग जोडिएको खानेपानी तथा सरसफाई मन्त्रालय त्यसमन्त्रालयमा फेरिने मन्त्री राजनीतिक पार्टीको हुने र त्यो मन्त्रालयमा आएपछि मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आओस् नआओस् तर समयअवधि लम्ब्याएर लागत बढाएर ठेकेदारसँग मिलेर कमिशन लिएर काठमाडौं खानेपानी मन्त्रीको घर चाहिँ पहिला बन्नुपर्ने गरी काम गरिरहेको हुनाले मेलम्ची खानेपानी योजना ढिलो गरेका हुन भन्ने आरोप उपत्यकाबासीहरुको रहेको छ ।
सुन्दा अत्यन्तै राम्रो लाग्ने जनप्रतिनिधिहरु चयन भइसकेपछि नेपालीहरुको मुहारमा खुसीको ज्योति चम्केको भाव देखिन्थ्यो तर अचेल जनप्रतिनिधिहरु कुन–कुन शिर्षकमा कतिकति नाफा र कसरी कुन शिर्षकमा बजेट निकाल्दा हुन्छ भन्ने जोड घटाउमा लागेको सहजै देख्न सकिन्छ । काम गर्दा विकास हुने र कमिशन पनि नआउने तर एनजीओ, आइएनजीओहरुको परनिर्भरमुखी कार्यक्रम सञ्चालन ग¥यो भने भत्ता कमिशन आउने र काम पनि गर्नु नपर्ने जस्ता काम देशैभरीका स्थानीयमा यस्ता गतिविधिहरुमात्रै भइरहेको हाम्रो स्थानीय संवाददाताहरुबाट प्राप्त भइरहेको छ । यस्तै यस्तै प्रबृत्ति पात्रहरुले नयाँ नेपाल बनाउलान् ?
नेपाल जलस्रोतको धनी देश तथ्यांकमा उल्लेख भएको र ८३ हजार मेघावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता भएको देश नेपालमा अहिले मरेर ७०० मेघावाट विद्युत उत्पादन भइराखेको छ भने आधाभन्दा बढी भारतबाट आयात गरेर बाल्नुपर्ने बाध्यता छ । राष्ट्रिय गौरवका आयोजना माथिल्लो तामाकोशीको अवस्था अझै ढिलो बन्दै गएको छ । बुढी गण्डकीको विषयमा विवाद उत्पन्न भएर खारेज भएको छ भने विकल्प अगाडी बढाएको छैन धेरैजति साना आयोजना भारतीय कम्पनीले ओगटेर होल्ड गरेको छ । नेपालीहरुले भारतलार्य कुनै पनि आयोजना दिनु भनेको नेपालको विकासमा ढिला गर्नु हो भन्ने बुझाई रहेको छ । हुन पनि पश्चिम सेनी, भारतीय मूलको अष्टे«लियन कम्पनीले होल्ड गरेर १५ वर्ष गुजारेको इतिहास, माथिल्लो कर्णाली, अरुण तेश्रो जस्ता आयोजनाहरु भारतीय कम्पनीले होल्ड गरेर नेपालको उज्यालो छेक्न होल्ड गर्दैछ भन्ने नेपालीहरुको बहसको विषय बनिराखेको छ । कसरी बन्दैछ नयाँ नेपाल घटनाले यता डो¥याएको देखिन्छ । कहाँ के हुँदैछ जनताले यतिबेला जान्न चाहिराखेका छन् । तर विडम्बना देशको विकासको गति धिमागतीमा चलिराखेको छ । सम्बन्धित निकायहरुको आखा तिखा,कान ठाडा, कदम छिटो र हात चलिरहेको हुनुपर्ने हो तर अस्तव्यस्तबाट देश अगाडी बढिरहेको छ गणतन्त्रको बदनाम पार्टी नेता, स्थानीय कार्यकर्ताहरुले नै गराउँदैछन् । यी सम्बन्धित क्षेत्र, निकायले समयमा नै आफ्नो कार्य व्यवहारहरु नसच्याए परिस्थितिले अर्को मोड लिन सक्ने देखिन्छ । सबैको चेतना खुलोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend