जन आकाश
मोहन कार्की
काठमाडौं । शान्तिका दूत गौतम बुद्धको २५६२औं जन्म जयन्ती हिजो विश्वभरी भव्यताका साथ मनाइएको छ । संयुक्त राष्ट्र संघको कार्यालयमा समेत गौतमबुद्धको जन्म जयन्ती मनाइएको छ भने बुद्धिष्ठ राष्ट्रहरु चीन, जापान, कोरिया, थाइल्याण्ड, मंगोलिया, श्रीलंका, भूटानलगायत देशहरुमा त सार्वजनिक विदा दिएर भव्यताकासाथ गौतम बुद्धको जन्म जयन्ती मनाइएको सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् ।
त्यस्तै गौतम बुद्धको जन्मभूमि नेपालमा पनि देशैभरी गौतमबुद्धको २५६२औं जन्म जयन्ती विभिन्न ठाउँहरुमा विश्व शान्तिको कामना गर्दै विभिन्न संघ संगठनहरुले दीप प्रज्वलन गरेर मनाएका छन् । त्यो भन्दा महत्वपूर्ण गौतम बुद्धको जन्म भएको स्थान लुम्बिनी अन्तर्राष्ट्रिय बुद्धिष्ठ, विज्ञहरु, बुद्ध धर्मावलम्बीहरु उपस्थित भई बुद्ध सम्मेलन गरेर मनाइएको छ ।
त्यस कार्यक्रममा प्रमुख अतिथि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली थिए । त्यस कार्यक्रममा विभिन्न राष्ट्रबाट आएका व्यक्तित्वहरुले गौतम बुद्धले देखाएको मानवीय शान्ति, बुद्धत्वको चर्चा गरेका छन् । विश्वमा बढ्दै गएको हिंसा, आक्रान्तको बेला बुद्धको वाणीलाई अनुशरण गर्ने हो भने विश्वमा शान्ति स्थापना गर्न कुनै समस्या नरहेको लुम्बिनीमा कार्यक्रम सहभागी वक्ताहरुले बताएका थिए ।
त्यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द किशोर पुनले पनि एक विज्ञप्ति निकाली शुभकामना व्यक्त गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले त लुम्बिनीमै पुगेर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताए । ‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुनु’’ सम्बोधनका क्रममा भनेका छन् ।
सन्देशमा गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामीले गर्व गर्न सक्ने बताउँदै बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक हुनुहुन्छ प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुको संगमस्थल भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रो अनुपम विशेषता भएको सन्देशमा लेख्नुभएको छ । ‘‘भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरु हुन् । त्यसैगरी किरात जाति पनि आफ्नो मौलिक संस्कृति र विशेषता बोकेको आदिवासी हो । किरात विविध मूल्य मान्यता र संस्कारले धनी मानिन्छ,’’ शुभकामना सन्देशमा उल्लेख छ । किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend