जन आकाश
पोखरा ,
कास्की प्रहरीले १५ जना टोले गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न ब्याक्तिहरुलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो । प्रहरीले टोले गुण्डा नाइके लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ, स्याङजा रापाकोट घर भइ पोखरा १७ घारीपाटन बस्ने चन्द्र गुरुङ, पोखरा नयाबजारका शनिराज डंगोल, पोखरा ११ का सुमन श्रेष्ठ, स्याङजा पुतलीबजार नगरपालिका ७ लुम्छाकका पुनम गुरुङ र प्रकाश गुरुङ, म्याग्दी अन्नपूर्ण गाउपाकिा १ दोवाका धन कुमार पुर्जा, कास्की भरतपोखरीका महेश छोटा भन्ने महेश अर्याल, पोखरा बिरौटाका सुजन लामा, पोखरा १४ काजी पोखरीका जिवन थापा र बिजय गुरुङ, पोखरा १७ छोरेपाटनका नबिन गुरुङ, पोखरा लेकसाइडका बिजय रानाभाट, पोखरा अर्चलबोटका रोहित सुनार र पोखरा बाग्लुङ वसपार्कका रोहित गुरुङ रहेका छन ।
पक्राउ परेका टोले गुण्डाहरुलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गरिने कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले वताए । कास्की मा गुण्डा अप्रेशन सुरु भएको वताउदै यसअघिपनि साना तिना हप्ता असुल्ने टोले गुण्डाहरुलाई पक्राउ गरिएको भएतापनि आगामी दिनमा ठूला ठूला गुण्डाहरुलाई समेत पक्राउ गर्न कास्की प्रहरीले अभियान नै सञ्चालन गर्ने रानाले वताएका छन । कास्की प्रहरीको कमाण्ड सम्हालेको ५१ दिन सम्म आइपुग्दा कास्की प्रहरी प्रमुख रानाले ७६ जना फरार अपराधी पक्राउ गर्न सफल भएका छन । कर्तव्य ज्यान, लुटपिट, चेक अनादर, चोरी, लागुऔषध, लिखित गाली वेईजती, सरकारी छाप किर्ते, जालसाजी, केही सार्वजानिक अपराध लगायतका मुद्धामा संलग्न भइ फरार रहेकाहरुलाई पक्राउ गरि कारबाही प्रकृया अगाडी वढाएको कास्की प्रहरी प्रमुख रानाले वताएका छन । ५१ दिनको अवधिमा लागुऔषधमा संलग्न ४० जनालाई पक्राउ गर्न सफल भएको छ ।
त्यसैगरी ट्राफिक कारबाही अन्तर्गत ८ हजार ५ सय ६६ जना लाई कारबाही गरिएको छ । ट्राफिक कारबाही अन्तर्गत मापसेमा २१४ जना, मोडिफाइ गरेका सवारी ४४, मिटरमा जान नमान्ने १२४ ट्याक्सी, प्रेशर हर्न प्रयोग गर्ने १० वटा सवारी र फुटपाथमा पार्किङ गर्ने ४७० सवारीलाई कारबाही गरेको छ । त्यसैगरी जुवातासमा संलग्न ५९ जना लाई पक्राउ गरी कारबाही गरिएको कास्की प्रहरीले जनाएको छ ।
त्यसैगरी यौन ब्यवशायमा संलग्न २७ पुरुष र ५१ महिलालाई पक्राउ गरि मुद्धा चलाइएको र चोरी, लुटपाटमा संलग्न १८ वटा मुद्धामा २४ जना पुरुष र ४ जना महिलालार्य कारबाही गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी प्राकृतिक श्रोतको दोहन गर्ने १४ वटा सवारी र हराएका मोवाइलहरु ४६ थान फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी छोरेपाटन, ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी २८ थान सिसी क्यामेरा जडान गरिएको कास्की प्रहरी प्रमुख रानाले वताए । रानाका अनुसार चाडपर्व सुरु नहुदै पोखराका मुख्य मुख्य शहर तथा सडकहरुमा सिसी क्यामेरा जोड्ने तयारी समेत भइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend