logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

उमेशचन्द्र सुवेदीका आफन्तवाट अक्षयको लागि एकलाख दान ।


  • जन आकाश
  • आइतबार, भाद्र २४ २०७५

 



भदौ २४, देवघाटधाम ।
आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन । धेरै छोराछोरीहरूले आफ्ना बाबुआमालाई मिठो खानेकुरा खुवाएर र उपयुक्त उपहार दिंदै आर्शिवाद लिएर आजको पर्व मनाएका छन् । बाबु आमाको काखभन्दा टाढा हुनेहरूले विभिन्न माध्यमबाट बाबुआमालाई सम्झे र आर्शिवाद लिए । समाजमा आजको दिन बाबु नहुनेहरूले गोकर्ण लगायतका तीर्थस्थलहरूमा गएर पितृको सम्झनामा गर्दै स्नान एवं श्राद्ध र दानदातव्य गर्ने संस्कार छ । पितृको सम्झनामा आजको दिन विभिन्न खालका लोककल्याणकारी दान दिइ कर्म गुर्नेगर्छन् ।
यसै सन्दर्भमा श्रीमती चन्द्रकुमारी र छोराहरू दीपक, यादव, बैकुण्ठ एवं प्रकाश सुवेदीले हालै ब्रह्मलीन हुनुभएका आफ्ना पति एवं पिता उमेशचन्द्र सुवेदी शास्त्रीको पुण्य स्मृतिमा हरिहर सन्यास आश्रमद्वारा सञ्चालित परमानन्द संस्कृत गुरुकुल विद्यापीठम् देवघाटधाम तनहूँमा विद्यालय अक्षयकोषको लागि रु एकलाख दान गरेका छन् ।
उमेशचन्द्र सुवेदी शास्त्रीले समाजमा शिक्षाको उज्यालो फैलाउन आफ्नो जीवनकालमा धेरै योगदान पुर्याउनु भएको थियो । शिक्षा सेवी सुवेदीले पर्वतका टकलाक प्रा.वि. (हाल मावि) टकलाक, यज्ञेश्वर प्रा.वि. (हाल छत्तिसे मावि) सरौंखोला, जनसेवा संस्कृत मा.वि. हुवास हटिया, पालुस्थान मावि बेउलीबास, महेन्द्रोदय मावि भोक्सिङ्ग जस्ता विद्यालयहरू स्थापना र सञ्चालन गर्न अथक योगदान गर्नु भएको उहाँका सहकर्मी एवं सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् । शिक्षा सेवाको धेरै अवधि प्राधानाध्यापक रहनु भएका सुवेदीले उपर्युक्त मध्य पालुस्थान मावि र संस्कृत मावि स्थापना गर्न बढी योगदान गर्नुभएको बुझिन्छ । साथमा स्थानीय स्तरका अन्य साना तहका विद्यालय स्थापनामा पनि उहाँको योगदान अग्रणी थियो ।
बसाईसराईको क्रममा बर्दिया हुँदै बाँकेको कोहलपुरमा बस्दै आउनु भएका सुवेदीले कोहलपुरमा रहँदा पनि ज्ञानज्योति मावि चपरगौढीमा समेत शिक्षा सेवा पुर्याउनु भएको थियो । आमा बसुन्धरा र पिता मनिराम सुवेदीका नौं भाई छोरामध्ये कान्छा सुपुत्रका रूपमा वि.सं. २००० साल पुस महिनाको २२ गते पर्वत जिल्लाको पैञ्यू गाऊँपालिका अन्तर्गत गोहपुक भन्ने ठाऊँमा जन्मनु भएका शिक्षा परायण उमेशचन्द्रको ७५ वर्षको उमेरमा यही भदौ ८ गतेका दिन देहान्त भएको थियो ।
समाजलाई मानवताको गुण र कर्मले सम्पन्न गराउन सनातन धर्म दर्शन, पूर्वीय ज्ञानविज्ञान, अध्यात्म, संस्कार संस्कृतिको संरक्षण, संवद्र्धन र विकास विस्तार हुन जरुरी छ । यसका लागि साधनारत विद्यार्थीलगायत समग्र समाजलाई सद्मार्गमा अभिप्रेरित गर्ने संस्कृत शिक्षा दिनप्रतिदिन अपरिहार्य हुँदै गएको विकसित राष्ट्रहरूले समेत महसूस गरी संस्कृत शिक्षालाई स्थान दिन थालिसकेका छन् । तर, संस्कृतको उद्गमभूमि मानिने हामीकहा संस्कृत शिक्षाप्रति राज्यलगायतका संबन्धित जिम्मेवार निकायहरू उदासिन देखिन्छन् । यस्तो अवस्थामा यस्ता महान पर्व एवं अवसर तथा पुण्यस्मृतिका कर्महरूमा यसरी गरिने शाश्वत दानले निकै ठूलो महत्त्व राख्दछ । यो कार्यले समाजका नरनारीलाई उचित ढङ्गले उत्प्रेरित गर्न सकोस् ।
समाजमा संस्कृत शिक्षाको उन्नयन हुनुपर्छ भन्ने मान्यता राख्ने विद्वानका पत्नी एवं पुत्रहरूबाट उहाँको स्मृतिमा यसरी संस्कृत, धर्म अध्यात्म, वेदवेदान्त विद्याको अध्यापन हुने शिक्षणसंस्थामा भएको अक्षय दान सार्थक बनोस् र स्व. शास्त्रीको आत्मालाई परब्रह्म परमात्माको सान्निध्यता तथा मोक्षगति प्राप्त होस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend