logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गोरखा दरबारबाट फूलपाती काठमाडौं पठाइयो


  • जन आकाश
  • मंगलबार, असोज ३० २०७५

 



३० असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग, गोरखा दरबार हेरचाह अड्डा, गोरखा पर्यटन बिकास केन्द्र एवं पर्यटन सूचना केन्द्र र सतिपिपल क्लबको समन्वयमा विहानै गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती लगिएको हो ।

दरबारबाट बोकेर ल्याइएको फुलपाती सतीपिपलको फूलपाती चौताराबाट वा २० च ४३९४ नम्वरको जिपमा राखेर काठमाडौं लगिएको हो । ‘हिजो राति नजिकैको जंगलबाट बिशेष किसिमका फूलपाती ल्याएर मन्दिरमा राखेका थियौं’ दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलले भने, ‘त्यही फुलपाती डोलीमा राखेर हनुमानढोका पठाएका हौं ।’
एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फुलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको उनले बताए ।
शाह बंशको उद्गम थलो गोरखा भएकाले यहाँको फुलपाती काठमाडौं लाने प्रचलन रहेको कट्टेलले जानकारी दिए । ‘यसअघि हिँडेर धादिङको जिवनपुर, नुवाकोट हुँदै फूलपाती लगिन्थ्यो, तर २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरवाटोको प्रयोग गर्न थालेका हौं’ उनले भने ।
बिगतमा सुटुक्क फुलपाती पठाउने गरिएपनि अहिले उत्सवको रुपमा बाजागाजासहित लैजान थालिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले बताए ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले संस्कृति जर्गेनाका लागि युवाहरुले देखाएको सक्रियता प्रशंसा गरे ।

अनलाइनखबरवाट साभार गरिएको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend