जन आकाश
प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च डाभोसमा हुन लागेको सम्मेलनमा भाग लिन अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित प्रस्थान गर्नुभएको छ । उक्त सम्मेलनमा विश्वभरीबाट प्रतिनिधिहरु आउने छन् । त्यस सम्मेलनमा नेपालबाट देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओलीले विश्वको अर्थतन्त्र र नेपालको अवस्था साथै नेपालको सम्भाव्यता र नेपालले गर्नुपर्ने भूमिकाको बारेमा सम्बोधन गर्नुहुनेछ ।
नेपालको लामो संक्रमणकाल पूरा गरेर स्थायित्वको सरकार बनेको नेपाल केन्द्रीकृत राज्यबाट विकेन्द्रीकृत प्रणाली व्यवस्था लागु भएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गरेको र नेपालीहरुले समृद्ध नेपाल बनाउन योजना बनाएर काम गरिरहेको विश्व समुदायलाई जानकारी नै छ भन्दै नेपालका जनताको अधिक विकास शान्ति स्थायित्व र उन्नतिको लागि नेपालले अझै धेरै कामहरु गर्न बाँकी रहेको छ । यस विषयमा विगतमा पनि नेपाल राष्ट्रलाई साथ सहयोग गरेर सहयोग गरिरहेका राष्ट्रहरुलाई धन्यवाद दिँदै आउँदा दिनमा समेत अल्पविकसित मुलुकको रुपमा रहेको नेपाललाई विकसित मुलुक बनाउन सहयोग रहने विश्वास राख्दै सम्बोधन गर्नु हुने अनुमान गरिएको छ ।
नेपाल देशले विश्व सम्मेलनहरुमा भाग लिन थालेको इतिहास जंगबहादुर राणाको पालादेखि हो । त्यसपछि विस्तारै हुँदै विश्वका झण्डै ६० भन्दा बढी देशहरुमा नेपालको कूटनीतिक नियोग समेत स्थापना गरेर विश्व सम्बन्ध बढाउन प्रयत्न हुँदै आएको छ । तर प्रजातन्त्र स्थापना भइसकेपछि शुरु भएको कूटनीतिक नियोगमा राजदूत कसलाई बनाउने, कुन पार्टीको बनाउने, कुन नेताको नजिकको बनाउने जस्ता बखेडा र विवादले अन्तर्राष्ट्रियस्तरमा नेपालको जति प्रतिष्ठा र सकारात्मक सन्देश जानुपर्ने हो सोचेजस्तो नेपालको प्रचार नेपालीको मौलिकपन, विश्व समुदायमा प्रभावकारी हुन सकिराखेको छैन । ती विगतदेखि अहिलेसम्म परराष्ट्र नीतिमा भएको कमजोरीलाई समेत नामेट हुने गरी काम गर्नुपर्ने टड्कारो आवश्यकता छ ।
अहिले भइरहेको डाभोस सम्मेलनमा हाम्रा प्रधानमन्त्रीले विगतमा भएका कूटनीतिक नियोगहरुमा राजदूत नियुक्तिमा ढिलाई गरेर हाम्रो नियोगहरुमा देखिएको समस्या त्यस सम्मेलनमा उपस्थित हुँदा प्रत्यक्ष अप्ठ्यारो भएको महशुस पक्कै गर्नेछन् । त्यो महसुसबाट पाठ सिकेर देश फर्केपछि राष्ट्रिय परराष्ट्र नीति बनाउन लाग्नेछन् । निकट भविष्यमा विगतका भएका गल्तीहरु नदोहोरिउन भन्ने विश्वास जनताले राखेका छन् । देशको प्रधानमन्त्रीले विश्व समुदायमा नेपालको हितको निम्ति काम गर्छन् भनेर विश्वास गर्नैपर्छ । किनकी हाम्रो देशभन्दा ठुलो अरु हुन सक्दैन । कसैले राजनीतिक फाइदा हेर्लान्, विरोध गर्लान् । तर जुन पार्टी, दल जसको पार्टीबाट प्रधानमन्त्री भएको भएपनि केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको हैसियतमा डाभोस पुग्नुभएको छ ।
त्यसकारण सबै नेपालीले यस विषयमा चासोकासाथ विश्वास गर्नुपर्छ । ताकी नेपालको हरेक विश्व गतिविधिमा विश्व सम्बन्ध प्रगाढ बन्दै जानु भनेको नेपाल देशको प्राकृतिक सुन्दरताको प्रचार, धार्मिक संस्कृतिको प्रचार र त्यससँग प्रत्यक्ष जोडिएर आउने आर्थिक विकासका योजनाहरुको लागि विश्वसनीय वातावरण बन्छ । यी कामहरु विगतमा केही हुन खोजेको गर्न प्रयास गरेको जस्तो देखिएपनि परिणाममुखी भएका छैनन् । ती नीति, घटनाहरुलाई समिक्षा गरेर नेपालको भौतिक विकास, रणनीतिक योनजा साथै नेपालको उत्पादन, विश्व बजारमा पु¥याउने, नेपालमा उत्पादन गर्न चाहने कम्पनी, उद्योगहरुलाई विश्वसनीय वातावरण वर्तमान सरकारले बनाउनुपर्छ । जसले समृद्ध नेपाल बनाउने ढोका खोल्छ । र समृद्ध नेपाल बन्दै सुखी नेपाली बन्न नेपालीले पाउँछन् । यस्तो खालको नीति नेपालले बनाउन सक्नुपर्छ ।
डाभोस सम्मेलनबाट ती विकसित राष्ट्र र विगतमा ती राष्ट्रको अनुभवलाई समेत अध्ययन गरेर हाम्रो देशका प्रधानमन्त्रीले नीति र कार्यक्रम कार्यान्वयन गरुन् भन्ने आशा गर्दछौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend