जन आकाश
२०७५ साल हामीबाट विदा भइसकेको छ । २०७५ भित्र जेजस्ता दुःख सुख भएपनि २०७६ को नयाँ बर्षको शुरुवातसँगै नेपालीहरुको सुख, शान्ति, उन्नति, प्रगतिको कामना गर्दै नेपाली–नेपालीबीचमा शुभकामना आदान–प्रदान भइरहेको छ । कतिपय संघ संस्थाले नेपलाीको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमहरु राखेर भाइचारा बढाउने काम समेत गर्दै आइरहेका छन् । यो सकारात्मक पक्ष हो ।
त्यस्तै २०७५ चैत २५ गते देखि नै नेपालका अधिकाँश शहरहरुमा नयाँ बर्षको शुभकामना क्यालेण्डर विमोचन, पिकनिक, पार्टी प्यालेसहरुमा समूहगतमा खुशियाली मनाएको देखिन्थ्यो । यो नेपालीहरुको खुसियाली मात्र नभएर नेपालीका शुभचिन्तक, नेपाल प्रेमीभित्रहरुको लागि समेत खुसीको कुरा हो ।
तर विडम्बना नेपालीहरुको धार्मिक, सहिष्णुता, राष्ट्रिय अखण्डता, सद्भाव र एकतामा भने पछिल्लो समय आँचा आउने गरी विभिन्न ठाउँमा त्यसका छनकहरु देखा परे । सबै जातजाति, भाषाभाषि मिलेर बसोबास गरेको देश नेपालमा विदेशी संस्कृति अपनाएका केही तत्वहरुले नेपालीहरुको नयाँ क्यालेण्डरलाई मान्नुहुँदैन भनेर क्याम्पेनि· सम्म गरेको हल्ला बजारमा फैलाउनुले नेपालीको एकतामा चिसो पसेको छ । यो नेपालीहरुले सबै मिलेर त्यसखालका कुत्सित बिदेशी तत्वहरुलाई परास्त गर्दै नेपालीहरुको विक्रम संवद, नयाँ क्यालेण्डर अनुसार नयाँ बर्षको शुरुवातसँगै सवै जातजाति, भाषाभाषी धर्म संस्कृति मान्ने सबै नेपालीहरुले नेपालको राष्ट्रिय अखण्डताको लागि सद्भाव, मेलमिलाप र राष्ट्रलाई आवश्यक पर्दा एकढिका भई काम गर्नुपर्छ । नभए भाई फुटे गवाँर लुटे भन्ने कथा झै चरितार्थ हुन जान्छ ।
त्यसकारण सबै नेपालीहरुमा २०७६ सालको नयाँ बर्षको पावन सँगै राष्ट्रिय एकताको भावना फैलाई सबै नेपालीहरुको सुख, शान्ति, स्वतन्त्रता कायम गराई समुन्नत नेपाल र समुन्नत नेपालका सुखी नेपाली बन्नुपर्छ । त्यसो गर्न नेपालीले आँट गर्नुपर्छ । त्यसो गरेर २०७६ साल सबैको सुखद बनाउनुपर्छ २०७६ सालको सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । सबैको सुखद रहोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend