logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सम्पादकहरुले एक्कै ठाउ उभिएर भने प्रेसविरोधी विधेयक स्वीकार्य छैन


  • जन आकाश
  • शनिबार, जेष्ठ ११ २०७६



सम्पादकहरुले एक्कै स्वमा एक्कै ठाउमा उभिएर प्रेसविरोधी विधेयक कुनै पनि हालतमा नस्वीकार्ने भएका छन् ।
आज विभिन्नमिडियाका सम्पादकहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने बताएका छन् । विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेका र प्रेसमाथि अंकुस लगाउने गरी संसदमा पेश भएकाले सबैलाई मान्य हुनेगरी संसदबाट फिर्ता ल्याएर परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

शनिबार नेपाल पत्रकार महासंघले काठमाडौंमा रहेका ठूला तथा साना मिडियाका सम्पादकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा सम्पादकहरुले लोकतन्त्रका हिमायतीहरुले प्रेस विरोधी कानुन ल्याउँछन् भन्ने नसोच्दा नसोच्दै पनि मिडियाको घाटी निमोठ्ने गरी विधेयक पेश भइसकेकाले त्यसलाई फिर्ता गरेर सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै पुनः संसदमा पेश गर्न आग्रह पनि गरे ।

‘विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन, विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुस गर्ने गरी अघि बढाउनुपर्छ’ सम्पादकहरुले भने, ‘समाचार लेखेकै कारण मान्छे मारे जस्तो अपराधी ठान्न हुँदैन । अहिले पेश भएको विधेयकले त्यही व्यवहार गर्ने संकेत देखिएकाले त्यसलाई परिमार्जन गरिनुपर्छ ।’

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने आचार्यले दाबी गरे ।

सरकारले संसदमा विधेयक दर्ता गर्नु अगाडि नै आफूहरुले लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको आचार्यले जानकारी दिए । उनले भने, ‘संसदमा विधेयक लैजानुभन्दा पहिले नै लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र दिएर सरोकारवालासँग छलफल गर्न माग गरेका थियौं । तर, छलफल नगरी २६ गते संसदमा लगियो ।’

नेपाल पत्रकार महासंघले नागरिक अगुवा एवं मानवअधिकारकर्मीहरुसँग पनि छलफल गरेको आचार्यले बताए । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा यतिबेला नेपाल पत्रकार महासंघ दोस्रो चरणको आन्दोलनमा छ । महासंघको आन्दोलनमा सम्पादक समूहले पनि संयुक्त वक्तव्य जारी गर्दै ऐक्यवद्धता जनाइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend