जन आकाश
टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा. लि. को सामाजिक उत्तरदायित्तव विङ (सिप्रदीयन सहायता संस्था) को सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपाल्चोक जिल्लास्थित श्री कूपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एउटा विशेष समारोहका माझ पुनर्निर्माण गरिएको उक्त विद्यालयको उदघाटन गरेका छन । ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को एक हिस्सा स्वरूप टाटा ट्रस्टले सिप्रदीयन सहायता संस्था सँगको साझेदारीमा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको गरिएको छ ।
भूकम्प प्रतिरोधी आधुनिक संरचना र अपांगमैत्री सुविधाहरू भएको सो विद्यालयको पुनर्निर्माण गरिएको छ। सिन्धुपालचोकमा पुनर्निर्माण गरिएका अन्य ६ वटा विद्यालयहरू मध्ये श्री कूपकन्या माध्यमिक विद्यालय सबैभन्दा ठूलो हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ती विद्यालयहरूको कक्षाकोठा, विज्ञान प्रयोगशाला र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो।
हस्तातन्तरण समारोहमा सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भि.आर. मेहता, सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबरा, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, अग्निप्रसाद सापकोटा तथा अरुण नेपालको उपस्थिति रहेको थियो।
त्यसैगरी टाटा ट्रस्ट्सका प्रमुख वित्त अधिकारी आशिष देशपाण्डे, क्षेत्रीय प्रमुख अमृता पतवर्धनका साथै संघीय सांसद् र स्थानीय सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो।
हस्तातन्तरण समारोहमा बोल्दै सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भि.आर. मेहताले भने,“नेपालमा वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पका परी कैयौँ मानिसहरूको ज्यान गयो, हजारौँ परिवारहरू विस्थापित हुन पुगे। त्यसैगरी घरहरू र विद्यालयहरूमा व्यापक क्षति पुग्यो जुन निकै दुर्भाग्यपूर्ण हो। यद्यपि यस विपद्का कारण भारत बाहिर केही गर्न तथा पुनर्निर्माण कार्यमा जुट्ने र प्रभावितहरूलाई सहयोग प्रदान गर्न स्वर्णीम अवसर टाटा ट्रस्ट्सलाई मिल्यो।”
“हामीलाई विश्वास छ कि भविष्यमा यस स्थानबाट देशका होनहारहरुको उदय हुनेछ।”
त्यसैगरी कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले नेपाल र भारतको शताब्दीऔँ पुरानो दौत्य सम्बन्ध र आपसी सम्बन्धका बारेमा चर्चाे गरेका थिए । नेपालको आर्थिक अभियानमा भारतको सदा सहयोग र तत्परता रहेकोमा पनि उहाँले जोड दिनुभयो।
सिन्धुपाल्चोकका जिल्ला शिक्षा अधिकारीले भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि कक्षाहरू संचालन गर्नमा कठिनाइ भएको र कक्षाहरू खुला चौरमा संचालन गर्नुपरेको जनाउनु भयो। विद्यालय प्रतिको निरन्तर र अमूल्य सहयोगका लागि टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थालाई उहाँले कृतज्ञता ज्ञापन गर्नुभयो।
पुनर्निर्माण गरिएको विद्यालयमा १४ वटा कक्षाकोठाहरूको साथै सुविधा सम्पन्न पुस्तकालय, कम्युटर ल्याब र कर्मचारी कार्यालयहरू छन्। १८ महिनामा निर्माण सम्पन्न गरिएको सो विद्यालय भवन सुविधा सम्पन्न, भूकम्प प्रतिरोधी र अपांगमैत्री रहेको छ। विद्यालय स्थानमा मोटरबाटोको सुविधा नभएपनि टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाले सुविधासम्पन्न विद्यालय निर्माण गर्ने जिम्मेवारी लिए।
यस विद्यालयमा लैंगिक मैत्री तथा अपांगमैत्री शौचालयहरू, फर्निचर तथा अन्य उपकरणहरू छन् तथा विद्यार्थीहरू र शिक्षकहरूका लागि शिक्षा, खानेपानी तथा सरसफाई (ईवाश) सचेतनामूलक गतिविधिहरू संचालन गरिन्छ।
टाटा ट्रस्ट्सले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको हो। सो परियोजनाअन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली परकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सातवटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनर्निर्माण गर्ने पहल चालिएको थियो। श्री शारदा उच्च माध्यमिक विद्यालय, श्री जाल्पादेवी माध्यमिक विद्यालय, श्री मार्मिङ आधारभूत विद्यालय, श्री तपीनारायण आधारभूत विद्यालय, श्री कोदारी माध्यमिक विद्यालय, श्री जनज्योति आधारभूत विद्यालय तथा पुल्पिङकट्टी स्वास्थ्यचौकीको पुनर्निर्माण गरिदैँछ। विद्यार्थी, शिक्षकहरू तथा समुदायको सुरक्षा तथा दिगो शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ पुनर्निर्माण गरिएको हो।
सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले थप भनाइ राख्दै केही वर्षदेखि हामीले यस पुनस्र्थापना परियोजना प्रति दिलो ज्यान दिएका छौँ। संरचनाको इन्जिनियरिङदेखि पूर्ण सुविधासम्पन्न कक्षाकोठाहरू अनि सूक्ष्म विवरणहरूमाथि सिप्रदीयन सहायता संस्थाले पूर्ण ध्यान दिएको छ। सामाजिक उत्तरदायित्व जिम्मेवारीसम्बन्धी गतिविधिहरूप्रति हामी समर्पित छौँ र भावी दिनमा पनि निरन्तरता दिनेछौँ।”
टाटा ट्रस्ट्सको बारेमा
टाटा ट्रस्ट्स विगत १०० वर्ष देखि संचालनमा रहेको छ र भारतको सबैभन्दा पुराना, गैरसाम्प्रदायिक परोपकारी संस्था हो । स्थापनादेखि नै टाटा ट्रस्ट्सले परम्परागत परोपकारी सेवासम्बन्धी परिवर्तन गरीसमाजमा वास्तिवक बदलाव ल्याउने खालको समाजसेवा र पारोपकारी कार्यहरूसम्बन्धी धारणालाई अघि सारेको हो। यस ट्रस्टद्वारा अनुदानद्वारा वा प्रत्यक्ष कार्यान्वयन एवं सहभागिताको दृष्टिकोणले स्वास्थ्य तथा सुपोषण, जल तथा सफाई, उर्जा, शिक्षा, ग्रामिक जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापन, सहरी क्षेत्र गरीबी निवारण, नागरिक समाजको परिमार्जन तथा सुशासन, पत्रकारिता, कला, कौशल र संस्कृति तथा विविध रोजगारी आदि विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।
सिप्रदीयन सहायता संस्थाको बारेमा
सन् २०१२ देखि संचालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारीसम्बन्धी गतिविधिहरू संचालन गर्न यस संस्थाको स्थापना गरिएको हो। यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम गाउँहरूमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग प्रदान गर्ने उद्देश्य लिएको छ। साथै संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सेवा र सहयोग हरसम्भव पु¥याउने लक्ष्य लिएको छ। यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनस्र्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend