logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पुर्व राजा ज्ञानेन्द्र कुटनीतिमा दखल मोहन पोखेल


  • जन आकाश
  • शुक्रबार, साउन १७ २०७६

भन्ने गरिन्छ कि कुटनीतिको अर्थ राम्रोसँग बुझिएन र त्यसलाई संचालन गर्न जानिएन भने मुलुक वर्वाद हुन्छ । राष्ट्रियता माथि धावा बोलिन्छ । यस्तो अवस्थामा मुलुकको प्रजातन्त्र, गणतन्त्र र संवैधानिक निकायहरुको अर्थ अत्यन्त गौण हुन्छ । यस्तो डरलाग्दो अवस्थामा राष्ट्र बचाउनु बाहेक हामीसँग अझ कुनै विकल्प हुँदैन । राष्ट्र र राष्ट्रियता हामी नेपालीको प्राण हो । लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र राष्ट्र रहे मात्र रहने पद्धति हुन् । त्यसकारण राष्ट्रको संकटको यस घडीमा फेरी एकपटक राष्ट्रप्रेमी नेपालीहरु राष्ट्रियताको महत्वपूर्ण लडाइमा राष्ट्रिय झण्डा मुनि एकाकार हुनु नै अहिलेको वास्तविकता हो ।
प्रजातन्त्रवादी नेता वि.पी. कोइरालाले भन्ने गर्नुहुन्थ्यो– राजा जति सुकै निरंकुश भएपनि आफ्नो राजगद्धीको सुरक्षाकालागि राष्ट्रलाई माया गर्ने राष्ट्रवादी चिन्तन बोकेका व्यक्ति हुन् । त्यसैले राष्ट्रियता र प्रजातन्त्रको सवालमा राजा र मेरो घाँटी जोडिएको छ भन्नु हुन्थ्यो विपी कोइराला । नेपाली काँग्रेसका नेता वि.पी. कुटनीतिलाई राम्रोसँग सञ्चालन गर्ने र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई दह्रोसँग अगाडि बढाउन सक्ने खालका अशल राजनेता हुनुहुन्थ्यो । राष्ट्र संकटमा परेका बेला पुनः उहाँको विचार र उहाँले खेलेका कुटनीतिले नेपाल राष्ट्रको सम्बन्ध छिमेकी देशमा कस्तो किसिमले अगाडि बढेको थियो स्मरण गरी अगाडी बढ्नु बाहेक हामीसँग अरु कुनै बाटो छैन । किनकी हामी सबै नेपाली, हाम्रो देश र हाम्रो राष्ट्रियता बाटो हराएको बटुवाजस्तो चौबाटोमा अलमलिएको छ ।
कुटीतिक चातुर्यता विना भड्खालोमा परेको देशलाई बाहिर निकाल्न सकिँदैन । थोरै बोल्ने, अरुको कुरा चाखपूर्वक सुन्ने अनावश्यक अरुलाई लालछना नलगाउने, गाली नगर्ने र हाँसी खुशीका साथ समस्याको समाधान गर्ने काम नै अशल कुटनीतिक चरित्र हो । हाम्रो देशमा अशल चरित्र भएका, कुटनीतिक माध्यमबाट मुलुकको समस्या समाधान गर्न सक्ने र गर्दै आएका व्यक्तिहरुमा पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्र, वि.पी. कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको नाम लिइन्छ । यस्ता व्यक्तित्वलाई नोपली जनताले अशल राजनेता र अशल कुटनीतिको रुपमा स्मरण गरिरहेका छन् ।
पछिल्लो समय अर्थात् राजसंस्था समाप्त भएपछिका १२ वर्षमा पूर्व राजा ज्ञानेन्द्र शाहको कुटनीतिक चरित्र निकै राम्रो भएको आँकलन गर्न सकिन्छ । “राजा” ज्ञानेन्द्रले राजगद्दी छाडेपछिका दिनहरु निकै कहालीलाग्दा देखिएका छन् । “विना मियोको दाइ” जस्तै भएको हाम्रो देशमा पूर्व राजा शाहले मातृभूमि नेपालको राष्ट्रियता र त्यसलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि अन्तर्राष्ट्रिय जगतमा खेलेको कुटनीति निकै महत्वपूर्ण रहेको छ ।
२४० वर्ष सम्मको त्यत्रो राजपाठ नष्ट भएपछि पनि पूर्व राजा ज्ञानेन्द्र जनताको विचमा हाँसी–हाँसी हिड्नु भएको छ । राजदरबार र राजपरिवारको मातहतमा रहेका सम्पत्तिहरु वर्तमान सरकारले नेपाल ट्रष्टमा ल्याउने काम भएपछि पनि ज्ञानेन्द्रको मुखमा चमक हराएको छैन । विना सुरक्षा अर्थात आफ्ना साथमा रहेका सीमित सुरक्षाकर्मी लिएर जनताको विचमा जानुलाई “राजा” को कुटनीतिक चातुर्यतालाई नजिकबाट नियाल्न सकिन्छ । महाराजाधिराजबाट पदच्यूत भइसक्दा पनि “राजा” ज्ञानेन्द्र मित्र राष्ट्र भारत, चीनलगायत अन्य राष्ट्रका राष्ट्राध्यक्ष, कुटनीतिक नियोगका अधिकारीहरु, खुफिया एजेन्सीका महत्वपूर्ण निकायहरुमा सम्बन्ध स्थापित गर्न सफल भएको दृष्टान्त छ । मुलुकका पछिल्ला घटनाक्रमबाट पूर्व राजा ज्ञानेन्द्र चिन्तित हुनुहुन्छ । “राजा” ज्ञानेन्द्रलाई पिरैपिर चिन्तैचिन्ता अवश्य छ । आफ्ना पूर्वजहरुले एक सूत्रमा बाँधेको सार्वभौम नेपाललाई गणतन्त्रका नाममा क्षतविक्षत पार्दै र हिन्दु राष्ट्रको पहिचान बोकेको मुलुकलाई “एसिया प्यासेफिक समिट” को सम्मेलनबाट मुलुकलाई थप क्रिश्चियनमय बनाउने प्रयास भएकोमा “राजा” ज्ञानेन्द्र चिन्तित हुनुहुन्छ । तर चिन्तित अवस्थालाई मुटुभित्र कैद गर्दै मुटुभित्र ढुंगा राख्दै जनताको माझमा दुःख साट्दै हिँड्नु भएको छ ।
१२ वर्षको गणतन्त्रकालिन युगमा “राजा” ज्ञानेन्द्रले जनताबाट धेरै आत्मियता पाइसक्नु भएको छ । लोकतान्त्रिक गणतन्त्रको आदर्श छाँट्दै र यसै पद्धतिलाई महान उपलब्धी भन्दै जनता र देशको उछितो काढ्ने काम तिब्र गतिमा बढिरहेकै बेला छिमेकी मुलुक भारतमा उत्पादन भएका विषादी तरकारीहरु विना चेकजाँच नेपाल भित्र्याउने काम सरकारले गरिरहँदा जनताले शास्ती बेहोर्नु परेको छ । भान्सामा धमाधम विष प्रवेश गरेको छ । प्रधानमन्त्री केपी ओली लाचार छन् । सचिवहरुले आफूलाई गुमराहमा राखेको भन्दै आफु चोखिने प्रयास गरेका छन् । सरकार छिमेकी सामु निरीह बन्दा नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको छ ।
कुटनीतिमा अति नै फितलो भइदिँदा मित्र राष्ट्रहरुबाट आउन लागेको आर्थिक सहयोग पनि गुम्ने अवस्थामा छ । रेल, पानी जहाज आदी सपनाका खेल भएका छन् । हालसालै नेपालमा चलाउने रेललाई सम्झौता भएअनुसार चिन सरकारले स्थगन गरेको छ । काम भन्दा हल्ला बढी भएको भन्दै चिनले रेल मार्गलाई पेन्डुलममा राखिरहँदा यहाँका नेता तथा सरकारको कुटनीतिक असमर्थतालाई स्पष्टसँग अथ्र्याउँदछ ।
र, अन्त्यमा १२ वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हालेपनि जस्ताको तस्तै भने झै ३० वर्ष सम्म ढुंग्रोमा कोच्दा पनि हाम्रा नेताको पुच्छर कहिल्यै सोझो भएन । बहुदलीय प्रणाली शुरु भएको ३० वर्ष भयो । यसलाई आन्दोलनका माध्यमबाट थप परिमार्जित गर्दै उपलब्धीका नाममा मुलुकले धान्नै नसक्ने किसिमको खर्चिलो पद्धति संघीय प्रणाली लागु गरियो । ७ प्रदेश बनाएर मुलुकलाई क्षतबिक्षत बनाइयो । कुटनीतिक असमर्थताले गर्दा छिमेकी राष्ट्रसँगको सम्बन्ध विग्रिदै गएको छ ।
यसैकारण मुलुकलाई थप विग्रन नदिनका लागि शाहवंशीय पूर्वजहरु जस्ता राष्ट्रप्रेमी व्यक्तित्वहरु राष्ट्रले खोजेको छ । असफल राष्ट्रबाट बचाउनको लागि राष्ट्रप्रेमी नेपालीहरु अब एकजुट हुनु बाहेक अरु कुनै उपाय छैन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend