जन आकाश
काठमाडौं, २९ साउन । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा रु. ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न सफल भएको छ । बैंकले हासिल गरेको यो मुनाफा ३०.५१ प्रतिशतको वृद्घि हो । बैंकले वितरणयोग्य मुनाफामा भने उल्लेख्य वृद्वि गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्वि गर्न बैंक सफल भएको छ ।
आषाढ मसान्त २०७५ को तुलनामा २०७६ आषाढ मसान्तमा बैंकको कूल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन ३०.०१ प्रतिशतको वृद्धि हो साथै यो वृद्धि वाणिज्य बैंकहरुमध्ये कै उच्चतम वृद्वि रहेको छ । त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन २७.०३ प्रतिशतको वृद्धि हो ।
आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा बैंकले कर्जा तथा ब्याज असुलीमा गरेको प्रभावकारी कार्यबाट निस्क्रिय कर्जाको अनुपातमा उल्लेख्य सुधार ल्याइ उक्त अनुपात ०.८६ प्रतिशत कायम राख्न सफल रहनुका साथै व्यवसायको आकारमा (निक्षेप तथा कर्जा) पनि उल्लेख्य वृद्वि गर्न सफल रहेकोले नै खुद मुनाफा तथा वितरणयोग्य मुनाफामा उल्लेख्य प्रगति हासिल गरेको छ ।
हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,५०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend