जन आकाश
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालयद्वारा पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको भन्दै सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनउनेतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौँ, उहाँले भन्नुभयो । अध्यक्ष ‘प्रचण्ड’ले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र शहीदकोे वास्तविक सपनामा पूरा हुने बताउनुभयो । कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा हुनुहुन्थ्यो, उहाँबाट हामीले पनि सिक्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रिया जतिसक्दो चाँडो सक्ने तयारी भइरहेको बताउँदै शहीदको सपना पूरा गर्न नयाँ सङ्कल्पसहित अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामीले पार्टीलाई जति गतिशील बनाउन सक्छौँ त्यति नै शहीद सुरेश वाग्लेको सपना पूरा गर्न सक्छौँ । पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको सम्पूर्ण काम टुङ्गो लागेपछि पार्टीले जनताको आवश्यकतानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend