जन आकाश
रामेछाप । पूर्वमाओवादी समूहले नेपाल मगर संघ रामेछाप कब्जा गरेपछि विवादले उग्ररुप लिएको छ । गत शनिवार मंसिर २८ गते शनिवार मन्थलीस्थित बौद्ध गुम्बामा भएको नेपाल मगर संघको सातौं जिल्ला अधिवेशनमा विवाद भएको हो । विवाद हुनुको कारण विधान विपरित पूर्वमाओवादी निकट मानिने शिवसागर मगरको नेतृत्वमा जिल्ला कार्य समिति एक्लौटी रुपमा घोषणा गरेपछि पूर्वएमाले समूह निकट मानिने निवर्तमान सचिव कल्पना आले मगर समूहले अधिवेशनको बन्दसत्र राती ९ बजे बहिष्कार गरेर हिडेपछि विवादले उग्ररुप लिएको हो । पूर्वएमाले निकट समूह बहिष्कार गरेर हिडेपनि पूर्वमाओवादी समूहले आफ्नो पक्षका मान्छेहरु राखेर कार्य समिति घोषणा गरेर सपथग्रहण समेत गराइ सकेको थियो । त्यसको भोलि पल्ट बहिष्कार गरेर हिडेको समूहले विधान विपरित कार्य समिति घोषणा गरेको भन्दै कल्पना आले मगर सहित ३५ जनाले हस्ताक्षरसहितको प्रेस विज्ञप्ति जारी गरेका छन् । २४ घण्टा बित्न नपाउदै अर्को समूह शिवसागर मगरको हस्ताक्षर भएको प्रेस विज्ञप्ति सार्वजनिक भयो । यति बेला रामेछाप जिल्ला समिति विवादको चरमउत्कर्षमा पुगेको छ । हुन त नितान्त मगरहरुको हकहित, सांस्कृतिक, परम्परा, धार्मिक,भाषिक, रितिरिवाजको संरक्षण र मगरहरुलाई एकताबद्ध गर्ने उद्देश्यले मगर संघको स्थापना भएता पनि नेपालमा थुप्रै जातजातिका संगठनहरु राजनीतिक भातृसंगठन जस्ता बनेर राजनीतिक पार्टीको जोडघटाउमा लाग्दा ती संगठनहरुले लिएका उद्देश्य, विचार यस्तै वाद र विवादमा फस्ने गरेका छन् । जसले गर्दा जुन उद्देश्य राखेर खुलेका संघसंस्थाहरुको उद्देश्यमा हिलो पोतिने गरेको देखिन्छ । त्यस्तै मध्ये नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछाप पनि अछुतो रहन सकेन ।
विवाद हुनको भित्री रहस्य
२०६६ सालमा तत्कालीन एमाले र माओवादीको सहमतिमा माओवादी निकटका खडगबहादुर आले मगरलाई अध्यक्ष र एमाले निकटका कल्पना आले मगरलाई सचिव पदमा भागबन्डा गरी पाँचौं र छैठौं पनि कोठे अधिवेशन गर्दै आ–आफ्नो मनमानी ढंगबाट कार्य समितिहरु निर्माण गरी आएका थिए । जुन बेला थुप्रै रामेछापका मगर समुदायले नेपाल मगर संघमा आबद्ध हुने इच्छा राख्दा राख्दै पनि तत्कालीन एमाले र माओवादीबाहेकका आस्था राख्ने मगरहरुलाई सदस्यता दिन समेत बन्चित गराउँदै आएको सदस्यबाट बन्चित हुनुपरेको मगरहरुले हामीलाई गुनासो गरेका छन् । हाल माओवादी र एमाले मिलेर बनेको नेकपाभित्र आफ्नो जुंगाको लडाइको लागि सुरु भएको नेपाल मगर संघ अन्तरगतको रामेछाप जिल्ला समन्वय समितिको विवादले रामेछापको स्वतन्त्र र नेकपाका संगठित मगरहरु बाहेककालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ हो भने जस्तै रामेछापका स्वतन्त्ररुपमा कुनै पार्टीमा आस्था नराख्ने मगरहरुको प्रतिक्रिया रहेको छ ।
रामेछापको विवाद केन्द्रसम्म
नेपाल मगर संघको केन्द्रीय १२ औं महाधिवेशन नजिकिदै जाँदा जिल्लाका अधिवेशनहरुले विशेष अर्थ राख्ने भएका हुदा(भोट बैंक) को रुपमा अहिले देखि नै विभिन्न जिल्लामा आ–आफ्नो मातहतको नेतृत्व स्थापना गर्दै आफ्नो आफ्नो गुटको वर्चश्व निर्माण गर्न नेकपाभित्रको आगो रामेछाप जिल्लामा देखिएको हो । नेपाल मगर संघको केन्द्रीय ११ औं राष्ट्रिय महाधिवेशनमा रामेछापबाट प्रतिनिधिको रुपमा एमाले निकटको १ भोट र माओवादी निकटको दुई भोट मत खसेको थियो । केन्द्रमा रामेछापका रक्षा बहादुर रैका मगर सचिव पदमा निर्वाचित छन् भने महासचिव पदमा माधव दर्लामी मगर र सचिव पदमा होमराज खपाङगी मगर निर्वाचनमा पराजित भएका थिए ।



© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend