जन आकाश
काठमाडौं । नेपाली राजनीतिका निर्णायक नेता बामदेव गौतमले फेरि पनि एकपटक आफ्नो पार्टी नेकपालाई एकताको सूत्रमा बाँध्न योगदान गर्ने हुनुभएको छ । नेकपामा पटक पटक बलिका बोका जस्तै बन्नु भएका राष्ट्रवादी नेता बामदेवलाइ भने नेकपाका नेताहरुले पटक पटक प्रयोग मात्र गरिरहेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा हिजो अपरान्ह बसेको बैठकमा नेता गौतमले सबैलाई मार्गदर्शन गर्ने विचार दिनुभएको छ । उहाँको भनाई छ– पार्टीभित्र सधैं लडाईं चलिरहन्छ तर पार्टीलाई कमजोर पार्ने काम नगरौं, हाम्रा आफ्ना गतिविधिले विदेशीलाई फाइदा पुग्ने काम नगरौं ।
अध्यक्ष प्रचण्डको निवासमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको बैठक भएको थियो । बैठकमा अर्का नेता रामबहादुर थापा बादल केही ढिला पुग्नुभएको थियो । बैठक स्रोतका अनुसार बामदेवले पार्टीलाई कमजोर पार्ने, देशलाई कमजोर पार्ने र विदेशीलाई फाइदा पुग्ने गतिविधिको आफूलाई आशंका भएको बताउनुभएको छ । उहाँको भनाई छ– हिजो रातिदेखि मैले जेजे गतिविधिहरु देखिरहेको छु त्यसबाट शंका उत्पन्न भएको छ । हामीले पार्टी र देशलाई बलियो बनाउन यो सबै गरेका हौं तर विदेशीको गोटी बन्न सकिँदैन । म यसमा सहमत छुइन ।नेता गौतमले आफू कसैको घोडा नबन्ने भन्दै– ‘मेरो काँधमा चढेर कसैले पनि सिकार गर्न नखोज्नुस् । मेरो सोझोपनाको फाइदा उठाउन नखोज्नुस् । म अब आम नेपाली जनता र पार्टीको हित केमा हुन्छ त्यसमा मात्र अगाडि सर्छु ।’
आफ्ना यस्ता कुरा राखेर बैठकबाट बीचमै उठेर नेता गौतम बाहिरिनुभएको थियो । त्यसपछि नेता बादलले पनि पार्टी र देशलाई कमजोर पार्ने गतिविधि नगरौं भनेर आफ्ना कुरा राख्नुभएको थियो । स्रोत अनुसार नेता बादलले पार्टीभित्र अहिले भइरहेको गतिविधिले कसैलाई पनि फाइदा नहुने, देश झन् कमजोर हुने विचार राख्नुभएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend