जन आकाश
काठमाडौं । गोङ्गबु भैरव वचत तथा ऋण सहकारी संस्था कार्यालयको उदघाटन भएको छ । साढे दुई वर्षदेखि यता कार्यालय विना नै सदस्यहरूसँग रकम संकलन गरि ऋण समेत प्रवाह गरिरहेको संस्था विधिवत दर्ता भई कार्यालय समेत खोल्न सफल भएको हो ।उदघाटन कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पुराण वाचक पण्डित नारायणाचार्य कौशिक हुनुहुन्थ्यो भने, विशिष्ठ अतिथिमा साहित्यकारहरूका डा. शैलेन्दुप्रकाश नेपाल र पण्डित राजेन्द्र भण्डारी रहनु भएको थियो । बन्दाबन्दीमा विशेष सामाजिक दूरी कायम गरि संचालन गरिएको कार्यक्रममा एकवर्ष सम्म सहकारीलाई निशुल्क रूपमा आफ्नो घरको एउटा कोठा उपलब्ध गराएकोमा संस्थाका कोषाध्यक्ष कृष्णबहादुर के.सी. र उनकी धर्मपत्तीलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य गोपाल महतले दिनुभएको थियो । संस्थाका उपाध्यक्ष घनश्याम भट्टराईले संस्था दर्ता भई कार्यालय समेत स्थापना गर्न हामी सफल भएका छौ, आगामी दिनमा हरेक सदस्यहरूको राय, सल्लाह र सुझावको कदर गरि विधि र नीतिमा अडिक रहेर सदस्यको जीवनस्तर उठाउने किसिमले कार्य सञ्चालन गर्नु हाम्रो दायित्व र कर्तव्य रहेको बताउनु भएको थियो ।
यसैगरी संस्थाका कोषाध्यक्ष तथा सम्मानित व्यक्तित्व कृष्णबहादुर के.सी. ले कोषाध्यक्ष पद छुच्चो भएको र छुच्याई गरिरहनु पर्ने बाध्यता आईरहने हुनाले यसलाई सदस्यले सामान्य रूपमा लिन आग्रह गर्नु भएको थियो ।
विशिष्ट अतिथि डा. शैलेन्दुप्रकाश नेपालले सहकारी संस्थामा मिलिजुली अगाडि बढेमा संस्थाको उन्नति र प्रगति भैरहने बताउनु भयो र कृष्ण के.सी.ले निशुल्क कोठा उपलब्ध गराउनु भएकोमा प्रशंसा व्यक्त गर्दै आगामी वर्ष समेत अरू दानवीर भेटिउन् भन्नुभएको थियो ।
प्रमुख अतिथि पण्डित कौशिकले जय सहकारी भन्दै सहकारी को उन्नति र प्रगितको शुभकामना दिनु भएको थियो भने अर्का विशिष्ट अतिथि पण्डित राजेन्द्र भण्डारीले शुभकामना सहित स्वस्ती वाचन गर्नु भएको थियो ।
सभापति रत्नप्रसाद श्रेष्ठले यो संस्थाले मकैको खोसेला र फोहोर टिपेर सामाग्री उत्पादन गरि पुस सेल गरेर सदस्यको आयआर्जन वृद्धि गरि दसवर्षमा गोङ्गवु चोकमा विल्डिङ् बनाएर कार्यालय पुनः उदघाटन गर्ने बताउनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend