जन आकाश
काठमाडौं।
राष्ट्रिय बाल दिवसका अवसरमा मदन भण्डारी फाउण्डेसनको आयोजनामा बाल विकासमा कोरोना महामारीले पारेको असर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मदन भण्डारी फाउन्डेसनकी केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा सात प्रदेशका बालबालिका ,शिक्षक ,अभिभावक र राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बालबालिका, शिक्षक तथा अभिभावकले बालबालिकामा देखिएका असर र असर न्यूनीकरण गर्न अपनाउनुपर्ने तौरतरिकाका बारेमा विज्ञहरूसँग जिज्ञासा राख्नु भएको थियो ।
सो अन्तरक्रिया कार्यकममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महामारीका कारण बालबालिकामा परेको असरलाई विचार गरी आगामी कार्यक्रमहरू बनाउन जरुरी रहेको बताउनु भएको थियो ।
सो अवसरमा मन्त्री गुरुङले अनलाइन शिक्षा र त्यसको पहुँच विश्लेषण गर्दै बालबालिकाको सिकाई सम्बन्धी आगामी कार्यक्रम बनाउन आवश्यक रहेको धारणा राख्दै कोरोना महामारीका कारण विद्यालय शिक्षा सञ्चालन हुन नसकेको अवस्थामा फाउण्डेसनले बालबालिकाको सिकाई र बाल मनोविज्ञानका विषयमा बालबालिकासँग गरिएको अन्तरक्रिया रचनात्मक कदम भएको बताउनु भएको थियो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै फाउन्डेसनकी केन्द्रीय अध्यक्ष उषा किरण भण्डारीले बालबालिकाको मनोविज्ञान मुख्य सरोकारको विषय रहेको भन्दै बालबालिकाको क्षेत्रमा थप कार्यक्रम गर्ने बताउनु भएको थियो ।
सरोकारवाला सबै पक्ष संग समग्र विषयको छलफल गरेर बालबालिकाको समग्र विकासका गतिवधि संचालन गर्नुपर्ने बताउदै अध्यक्ष भण्डारीले कोभिड का कारण बालबालिकाको मनस्थितिमा परेको असरका वारेमा गहन अध्ययन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
सो अन्तरक्रियामा बाल शिक्षाविद् प्राध्यापक वासुदेव काफ्ले ,जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बाल मनोविद् डा. गङ्गा पाठकले शिक्षक, अभिभावक र बालबालिकाले अधिकार, जिम्मेवारी, सम्बन्ध र जबाफदेहिता ,बालबालिकामा देखिएको मनोवैज्ञानिक असर हटाउन अपनाउनुपर्ने उपायहरुका आदिका वारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend