जन आकाश
गौरव पोखरेल
कुलमानको समर्थनमा प्रदर्शनमा उत्रिएका बब्लुमाथि जाइलाग्दै प्रहरीहरु
६ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भुइँमा बजारिँदा उनी घाइते भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । तर, राठौरको भनाइ त्यतिबेला गलत साबित भयो, जब युट्युबमा श्रेष्ठलाई प्रहरीले लाठी हालेलगत्तै टाउकोबाट रगत बगेको देखिने भिडियो सार्वजनिक भयो ।
निहत्था नागरिकमाथि प्रहरी निर्ममता त्यतिमा मात्र सीमित भएन । श्रेष्ठलाई उपचारका लागि ट्रमा सेन्टरमा पुर्याइएपछि अर्की एकजना महिला समर्थकमाथि पनि दुर्व्यवहार भयो । महिलाले अस्पतालमा हो–हल्ला गरेपछि तनाव सिर्जना भएको पृष्ठभूमि प्रहरीले बताए पनि उनलाई नियन्त्रणमा लिने वेला पुरुष प्रहरी खटिएको स्पष्ट देखिन्छ, जसलाई लिएर प्रहरीको आलोचना भइरहेको छ ।
यो घटनाको एक दिन अघि कुलमानकै पक्षमा प्रदर्शन गर्न लागेका युवा अभियन्ता बब्लु गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गर्यो । बबरमहलबाट गुप्तालाई नियन्त्रणमा लिइसकेपछि लाठी र बुट बजार्नु गलत भएको प्रहरी अधिकृतहरु नै स्वीकार्छन् ।
तर, गलत कार्यशैली देखाएको विषय छर्लङ हुँदाहुँदै पनि फिल्डमा खटिएका प्रहरीचाहिँ किन बारम्बार आक्रामक भएर कुटपिटमा उत्रिए भन्ने विषयमा प्रहरी हेडक्वार्टरले मुख खोलेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायत भने यही विषयमा छानविन गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई निर्देशन दिइएको बताउँछन् ।
‘प्रहरी प्रधान कार्यालयको निर्देशनपछि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानविन गर्न समिति बनेको छ’, एसएसपी कडायतले भने, ‘छानविनबाट दोषी देखिएकामाथि कारबाही हुन्छ ।’
सर्वसाधारणमाथि प्रहरी दमनको श्रृंखला यतिमा मात्र रोकिएको छैन । अन्यभन्दा सालिन मानिएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेतृत्वको नेपाल प्रहरीले जनस्तरबाट व्यापक विरोधका बीच पनि व्यवहार सुधारेको देखिँदैन । संविधान दिवसको पूर्वसन्ध्यामा संसद भवनकै सामुन्ने विनाकारण एक सर्वसाधारण कुटिनु यसको प्रमाण हो ।
अनलाइन खवर बाट साभार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend