जन आकाश
काठमाडौं ।
विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल आङरिता शेर्पाको ७२ वर्षको उमेरमा हिजो बिहान १० बजे आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको छ ।
स्वर्गिय आङरिता शेर्पाकोको पार्थिव शरीर शेर्पा गुम्बामा राखिएको छ । भोलि बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिएका छन् ।
सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक पटक आरोहण गरेका थिए।
उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विना अक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका कारणले उनलाई ‘हिमचितुवा’ उपनाम दिइएको थियो ।
सन् १९४८ मा सोलुखुम्बुको थामेमा जन्मेका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए। पहिलो पटक करिब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विना अक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा आरोहण गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend