logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आज छठ पर्व मनाईदै 


  • जन आकाश
  • शुक्रबार, मंसिर ५ २०७७

 



काठमाडौ ‌। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।

उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खाना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ । नदी किनारमा कोही बर्तालु पनि देखिदैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend