logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिंहदरबारमा नयाँ सुरक्षा प्रणाली


  • जन आकाश
  • आइतबार, मंसिर ७ २०७७

 



काठमाडौं । सिंहदरबारमा दैनिक १० देखि १५ हजार मान्छे आवत–जावत गर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाहेक अधिकांश मन्त्रालय सिंहदरबार परिसरभित्र छन् । सिंहदरबारको सुरक्षाका लागी नयाँ कार्यायोजना तयार गरिएको छ । गृह–मन्त्रालयका उप–सचिव प्रेमलाल लामिछाने नेतृत्वको समितीले ‘सिंहदरबार परिसर एकीकृत सुरक्षा कार्ययोजना–०७७’ सम्बन्धी प्रतिवेदन केही दिनअघि मन्त्रालयमा बुझाएको छ ।

नेपाल प्रहरीका डिएसपी, नेपाली सेनाका मेजर र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकृत सम्मिलित कार्यदलले गृह–सचिव महेश्वर न्यौपानेलाई सुझाव सहितको प्रतिवेदन बुझाएको हो ।

सिंहदरबारको ‘एकीकृत सुरक्षा कार्ययोजना–०७७’ तयार भएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले सञ्चारकर्मीहरुलाई संयुक्त जानकारी दिएका हुन् । उनले भने, ‘समितीले एकीकृत सुरक्षा योजना सम्बन्धी प्रतिवेदन बुझाएको छ, सो कार्ययोजना लागु गर्ने सम्बन्धमा सरोकारवाला मन्त्रालयसँग पनि छलफल गरेर निर्णय लिइन्छ ।’

समितिले सिंहदरबार परिसर सुरक्षाको वर्तमान अवस्था विश्लेषण गरेर अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको छ । विगतमा भएको सुरक्षा कमजोरी र भोली आउनसक्ने सम्भावित जोखिमबारे व्याख्या गर्दै सिंहरबार परिसरको सुरक्षाका लागि जनशक्ति थप गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

 

प्रवेश गेटमा भेहिकल स्क्यानर

प्रतिवेदनमा मुख्यरुपमा दक्षिण गेटसहित अन्य तीनवटा गेटमा पनि सवारी स्क्यानर मेशिन राख्नुपर्ने सुझाव दिइएको छ । अहिले सिंहदरबार प्रवेश गर्ने गाडी र मोटरसाईकल स्क्यान गर्ने मेशिन छैन ।

म्यानुअल चेकजाँचबाट गाडीमा लुकाएर लाने हतियार र विष्फोटक पदार्थ पत्ता नलाग्दा आपराधिक समूहले फाइदा उठाउन सक्ने विश्लेषण गर्दै भेहिकल स्क्यानर मेशिन जडान गर्नुपर्ने समितीको सुझाव छ ।

सिंहदरबार परिसरमा क्लोज सर्किट टेलिभिजन (सिसि) क्यामेराको संख्या बढाउन पनि समितिले सुझाव दिएको छ ।

‘दैनिक प्रवेश गर्ने १० हजार भन्दा बढी मान्छेको गतिविधि निगरानी गर्नुपर्ने र प्रवेशलाई व्यवस्थित बनाउने योजनासहितको सुझाव आएको छ,’ गृह प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले जानकारीमा उल्लेख गरेका छन् ।
प्रवेश गेटमा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । भेहिकल स्क्यानरबाहेक पैदल सिंहदरबार प्रवेश गर्नेहरुको बडी स्क्यान गर्ने मेशिन राख्न र वाकथ्रु गेटलाई स्तरोन्नती गर्नुपर्ने कार्ययोजना प्रस्ताव गरिएको छ ।

अहिले सिंहदरबारको दक्षिण गेट र पूर्वी गेटमा वाकथ्रु गेट राखिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै दक्षिण गेटमा थर्मोग्राफिक क्यामरा पनि राखिएको छ । सो क्यामराले समुहिक रुपमै सिंहदरबार प्रवेश गर्न चाहनेहरुको तापक्रम नाप्छ ।

 

सेल्फी खिच्न निषेध

कोरोना महामारीसँगै सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा मन्त्रीका स्वकीय सचिवहरुको फोन आदेशमा हुलका हुल मान्छे प्रवेश गराउने चलन बन्द छ ।

कार्यदलले बुझाएको प्रतिवेदनमा सिंहदरबार छिर्ने ‘पास सिस्टम’ व्यवस्थित बनाउनुपर्ने उल्लेख छ । सिंहदरबारमा ‘मन्त्री, सचिव भेटाएर काम मिलाइदिन्छौँ’ भन्दै दैनिक सयौँ बिचौलिया प्रवेश गर्छन् । सँधै सिंहदरबारमै घुम्ने ‘स्थायी बिचौलिया’ लाई कसले, कसरी पास बाँडेको छ भन्नेबारे पनि कार्यदलले अध्ययन गरेको छ ।

कार्यदलले सिंहदरबारभित्र जथाभावी फोटो खिच्न र सेल्फी खिच्न पनि रोक लगाउन सुझाव दिएको छ । आजभोलि सिंहदरबार परिसरभित्र गृह मन्त्रालयको अनुमति बिना फोटो खिच्दा प्रहरीले पक्राउ गर्छ । तर सञ्चारकर्मीहरुलाई भने फोटो खिच्न छुट छ ।

कार्यदलले सिंहदरबारभित्र पार्किङ स्थलको समस्या रहेको भन्दै पार्किङ व्यवस्थित गर्नुपर्ने सुझाव दिएको छ । गृह सचिवस्तरीय निर्णयले गठन गरिएको सो समितीको प्रतिवेदन छिट्टै कार्यान्वयनमा ल्याईने गृह मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend