logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकमले शिक्षक र बिद्यार्थीलाई निशुल्क सिम


  • जन आकाश
  • आइतबार, मंसिर २१ २०७७

काठमाडौं । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला CUG सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो । सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट https//learning.cehrd.edu.np चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन् ।



यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला CUG सिमकार्ड लिन सक्नेछन् ।

प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहनुभएमा पहिलेदेखि नै उहाँहरुले प्रयोग गरिरहनु भएको प्रिपेड सिमकार्डलाई पनि पाठशाला CUG मा आबद्ध गर्न पनि सकिने छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् ।

विद्यार्थीको लागि सिमकार्ड लिंदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने छ । निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनु पर्नेछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन् ।

विद्यालयले पाठशाला CUG मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको CUG मा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा अबवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत जानकारी उपलब्ध हुने टेलिकमले जानकारी गराएको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend