जन आकाश
मुक्तक १
मेरा हरेक स्वीकारोक्ति बैगुन ठान्नेलाई
मनको मलम बन्न खोज्दा नुन ठान्नेलाई
समर्पणमा मुटु झिकी पाउमै राखिदिँदा पनि
के भन्न मिल्ला बालुवाको बिस्कुन ठान्नेलाई ?
मुक्तक २
चाहना छ आँखा खुल्दा तिमीलाई नै हेर्न पाऊँ
खुशीका पाना सँगै भरी सँगै दुस्ख केर्न पाऊँ
कुनैबेला मनको इच्छा के छ भनी सोध्यौ भने
म त भन्छु जीवनभरि सास नि सँगै फेर्न पाऊँ !
मुक्तक ३
अवैध धन्दाबाट आर्जित धनले पनि बिझाउँछ
बगलीमा छुरा राख्ने आफ्नोपनले पनि बिझाउँछ
याद राखौँ लिनु दिनु मीठो बोली मात्रै हो आपसमा
मनमा कालो भएकाको वचनले पनि बिझाउँछ !
मुक्तक ४
जित्न खोज्ने तिमी अनि हार्न नमान्ने म पनि उस्तै
दिल दाउमा राख्ने तिमी, खेल्नै नजान्ने म पनि उस्तै
गफले दुई किनारा जोड्ने तिम्रो कुटिल चाल बुझेर नै
क्षणिक नातालाई कहिल्यै आफ्नो नठान्ने म पनि उस्तै !
मिना चौलागाईं
काभ्रे पाँचखाल
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend