जन आकाश
मुक्तक १
बेवारिसे शव झै छ ,बेकार जिन्दगी
खुकुरी को जस्तो छ ,धार जिन्दगी
तिमी भन्छ्यौ मुस्कान कता हरायो,
मलमले निको भएन दरार जिन्दगी
मुक्तक २
दुई तिहाइ दिए पनि सरकार बलियो भएन
गरिब पिछडिएको बर्गहरुको मियो भएन
राजतन्त्रमा जस्तो थियो उस्तै छ अन्धकार,
कालो बादल हटाउने चम्किलो दियो भएन
मुक्तक ३
केरुङ्ग बाट छुकछुक रेल आयो चढ्न नमिल्ने ।
चुच्चे नक्साको किताब आयो पढ्न नमिल्ने ।
सिमा मिचिदा मर्न,मार्न तयार छौ हामी नेपाली,
आदेश छैन सरकारको अगाडि बढ्न नमिल्ने ।
मुक्तक ४
लुकि लुकि आँखामै गुलेली हान्यौं खुब मजाले ।
सोझा निमुखाहरुलाई ढाट्न जान्यौं खुब मजाले ।
आफूले आफूलाई नै खुबै विवेकशील संझन्थ्यौं
महाकाली बेच्ने दुष्टलाई पो छान्यौं खुब मजाले ।
नवराज खरेल
स्वर्गद्वारी प्यूठान
हाल दाङ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend