जन आकाश
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ महिनापछि नियमित पूजाका लागि आजवाट खुलेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन गर्न पाउनेछन् । अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ भने दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्था गरिएको छ ।
भक्तजनलाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गराई दर्शनपछि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु नहुने पशुपति विकास कोषले जनाएको छ ।
मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमापूजा गरेकी थिइन् । त्यस अवसरमा पशुपति विकास कोषले सवा लाख दीप प्रज्वलनसमेत गरेको थियो ।
नेपालको अधिक आस्था र बिश्वास जोडिएको पशुतिनाथ खुलेसँगै भक्तजनहरुको आज बिहानैवाट भीड लाग्न थालिसकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend