logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

यातायात बिभागमा चरम लापरवाही सेवाग्रही हैरान


  • जन आकाश
  • बिहिबार, पुष १६ २०७७

 



काठमाण्डौं । यातायात व्यवस्था विभागको अनलाइन चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा चरम लापर्वाहीका कारण सेवाग्राहीले हैरानी व्यहोर्न बाध्य भएका छन् ।
खासगरी विभागले लगाएको कोटा प्रणाली र अनलाइन आवेदनको क्रममा आउने सर्भर डाउनका कारण यस्तो समस्या भोग्नु परेको सेवाग्राही बताउँछन् ।

कारोना भाइरसको कारण विगत ९ महिनादेखि बन्द रहेको लाइसेन्स आवेदन गत मंगलबारबाट खुल्ला गरिएपनि सेवाग्राहीले आवेदन दिन पाएका छैनन् ।

अहिले यातायात व्यवस्था विभागले अनलाइन लाइसेन्स आवेदनको लागि खुल्ला गरेपनि विभागकै प्रणालीमा बारम्बर आउने समस्या र लापर्वाहीले विहान ५ नबज्दै कोटा भरिसकिएको हुन्छ । अहिलेसम्म विभागले न कुनै अनलाइन प्रणालीलाई सुधार गर्ने योजना ल्याएको छ न त सेवालाई प्रभावकारी नै बनाउन सकेको छ ।

विभागको अनलाइन सवारी अनुमति पत्रको आवेदन भर्दा रजिष्ट्रेसन फेल भनिरहेको हुन्छ भने विभागको साइटले भार थाम्न नसकेर पटक पटक साइट डाउन समेत हुने गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार कोटा सिस्टमको कारण दैनिक २०० भन्दा बढी आवेदन दिन नपाइने व्यवस्था गरेको छ । तर, झन्डै एक बर्ष बन्द भएर खुल्ला गरिएको नयाँ चालक अनुमतिपत्रका लागी लाखौं सेवाग्राही पर्खाइमा बसिरहेका छन् । विभाग भने एकैपटक ठूलो चाप पर्ने भन्दै सेवाबाट पन्छिरहेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले लामो समय बन्द रहेको अनलाइन आवेदनका खुला गरिएपछि एकैपटक सेवाग्राही प्रवेश गरेकाले समय समयमा समस्या आउने गरेको स्वीकार गर्छन् ।

झन्डै एक बर्ष बन्द भएपछि अघिकांश मानिस लाइसेन्स आवेदनको पर्खाइमा बसेकाले अनलाइन आवेदनले चाँप थेग्न नसक्ने अवस्था रहेको उनको भनाई छ ।

‘हामी विभागको अनलाइन सिस्टम अपग्रेड गर्दै परिमार्जन सहित नयाँ ढङ्गबाट अगाडी बढ्ने तयारी गरिरहेका छौं’ उनले भने ‘अब सबै प्रक्रिया अनलाइन माध्यमबाटै अगाडि बढिरहेको अवस्थामा सवारी अनुमति आवेदनलगायत सम्पूर्ण कार्यलाई एकीकृत गर्दै प्रदेश यातायात कार्यालयहरूसँग छलफल प्रक्रिया अगाडी बढाएका छौं’ ।

पछिल्लो समय यातायात क्षेत्रका अधिकांश क्रियाकलाप प्रविधि मैत्री हुन सकेका छैनन् । अहिल पनि यातायात व्यवस्था विभाग अन्तर्गतका सबै काम तथा सेवामा आउने समस्याका कारण कारण सेवाग्राही यातायात कार्यालयसम्मै धाउनुपर्ने बाध्यता हट्न सकेको छैन् । नेपाल सरकार र विभिन्न निकायहरूले सरकारी सेवा लिनका लागि भन्दै सबै काम कारवाही अनलाइन तर्फनै केन्द्रित हुने बताएपनि प्रविधिमा आउने समस्याका कारण परम्परागत रूपमा हुने कार्य अन्त्य हुन सकेको छैन् ।

यातायात कार्यालयहरूले अनलाइन आवेदन लिइरहेपनि लाइसेन्सको लागि लिखित तथा प्रयोगात्मक परिक्षा भने सञ्चालन हुन सकेको छैन । अहिलेसम्म त्यो अन्योल कायम नै छ । कारोना जोखिमलाई मध्यनजर राख्दै बढी भीडभाड हुने भन्दै कुन मोडालिटिमा अगाडि बढ्ने भन्ने बिषयम छलफल भइरहेको यातायात कार्यालयका अधिकारीहरू बताउँछन् ।
विभागका अनुसार अहिले नयाँ स्मार्ट लाइसेन्स छपाइको काम रोकिएको जस्तै छ । नयाँ आवेदन तथा ट्रायल परीक्षा नखुलेकाले लाइसेन्स प्रिन्ट रोकिएको छ । गत चैतबाट कारोना भाइरस संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाको समयमा समेत यातायात विभागले करिब ७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न गरिसकेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend