जन आकाश
काठमाडौ । अवैध रुपमा काठमाडौं ल्याइँदै गरेको एक करोड ४७ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
नियमति चेकजाँचका आधारमा प्रहरीले सोमबार बिहान ४ः४७ बजे काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको चेक पोइन्टबाट उक्त रकम बरामद गरेको हो ।
रकमसँगै घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गोखरपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलबस्तु बाँडगंगा नगरपालिका–४ का २२ वर्षीय संगम थारु छन् ।
उनीहरुले कपिलबस्तुबाट कारको टायर राख्ने ठाउँमा फल्स बटम बनाई उक्त रकम लुकाएर ल्याएका थिए । घटना अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बरामद रकम नेपाल र भारतको सिमानाका हुँदै काठमाडौं ल्याइएको बताए ।
उनले भने, ‘शंकास्पद अवस्थामा ल्याइएको अवैध रकम बरामद भएको छ । प्रारम्भिक अनुसन्धानबाट बरामद रकम भारतबाट ल्याइएको देखिन्छ । कारको फल्स बटम भित्र लुकाई रकम ल्याइको छ । त्यसो हुँदा यो अवैध हो । स्रोत पनि खुलेको छैन । घटना सम्वन्धमा थप अनुसन्धान हुँदैछ ।
प्रारम्भिक अनुसन्धानबाट तस्करीमा प्रयोग हुने सुन मुल्य तिर्न बरामद रकम ल्याइएको प्रहरी स्रोतको दाबी छ । परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले हुण्डि वा अवैध सुन कारोबारका लागि उक्त रकम ल्याएको हुन सक्ने बताए ।
उनले भने, ‘बरामद रकम अवैध धन्दाकै लागि ल्याएको हो । ती मध्ये सुन तस्करी वा हुण्डि मध्ये एक हुन सक्छ । अनुसन्धान जारी छ । तथ्य खुल्दै जाला ।’
प्रहरीले रकम ल्याउन प्रयोग भएको प्रदेश –३–०१ ०२३ च २२५९ नम्वरको कार बरामद गरेको छ । उक्त कार उनीहरुल भाडामा प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । विशेष सूचनाका आधारमा रकम बरामद भएको प्रहरीको भनाइ छ । बरामद रकम तीन किलो सुनको मूल्य बराबरको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend