जन आकाश
मकानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा रहँदै आएको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध नबन्ने बताएका छन् । मुलुक समृद्ध बन्ने भ्रम नेपाली जनतामा छरेकै कारण मुलुक अहिलेको यो अवस्थामा पुगेको उनको भनाइ थियो । उनले उनको गृह जिल्ला मकानपुरको हेटौडा पुगेर यस्तो कुरा बताएका हुन् ।
गणतन्त्र र लोकतन्त्रको नाउँमा जनतालाई सडक संघर्षमा ल्याएर मुलुकको इतिहास मेट्न खोजेकै कारण देश दुर्घटनामा परेको उनको जिकिर थियो । नेपाल र नेपालीको इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने भन्दै अध्यक्ष थापाले धर्म, संस्कृती र पहिचानको रक्षाका लागि नयाँ पुस्ताको अग्रसरता आवश्यक रहेको बताए । उनले भने ‘खोक्रो गणतन्त्रको नाराले मुलुकको भविष्य संकटमा पर्यो, अब अघि बढ्न जरुरी भयो ।’
मकवानपुर गढी गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै थापाले ०६२–०६३ को आनदोलनपछि अवलम्बन गरिएको एकपछि अर्को त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको दाबी गरे । कंग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेको भन्दै उनले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने बताए ।
राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहे पनि निरंकुशताको पक्षमा नभएको उनको भनाइ थियो । राप्रपाले राष्ट्रको अभिभावकको भूमिकामा राजसंस्था रहँदा मात्र नेपालको इतिहास जीवित रहने उनको भनाइ थियो । फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै कार्यकर्ताहरुलाई हौस्याएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend