जन आकाश

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० दिइसक्ने योजना बनाएको छ ।
ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण मास प्रिन्टरको प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए ।
उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ । त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए । उनले भने, “हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो, नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ ।”
विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशक पौडेलले बताए । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ । विभागले कोभिड९१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो । उनले भने, “कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ ।”
कोभिड९१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेलले बताए ।
‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ । विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ । रासस
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend