logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हालको हालको बेहाल, कविताः डा. बमबहादुर थापा ‘जिताली’


  • जन आकाश
  • शनिबार, फाल्गुन २२ २०७७

 



(शार्दूलविक्रिडित छन्द)

– डा. बमबहादुर थापा ‘जिताली’

नेपाली ममचा बने दिनदिनै मोटा बने बङ्गुर

नेपाली जनता खिएर मुरली, छोटा बने डङ्गुर ।

यस्तोमा पनि देखियो सदनमा लुट्ने र फुट्ने छल

भारी लक्षण भेटियो मुलुकमा ढाँट्ने उही अक्कल ।।

 

नोटैनोट लिएर भोट बटुली कोही भए मालिक

हाम्रो गौरव नासियो, सहिदका ढल्ने भए शालिक ।

यस्तो चाल चलाउने र दुहुने राता बने नासक

मालामाल हुने र चुहुने घ्याम्पा भए शासक ।।

 

नेपालीपन मासियो र मुलुकी खाता विदेशी भए

कोही लम्पट ती सिँगार्नुछ भनी नाता अगावै गए ।

भालेका भरमा चलेन मुलकै सारा अँध्यारो भयो

हाम्रो देश विकासको चहकिलो चाला र माला गयो ।।

 

हाम्रो राष्ट्र हराभरा, रहरिलो वैकुण्ठ बन्दै थियो

कल्ले शान्त, उचा, प्रसिद्ध गरिमा ठाडै खसाली दियो ?

मौलाएर दरिद्रता मुलुकमा राजा अनेकौँ बने

ल्याई दुर्दिन राष्ट्रको ढुकुटीमा खाल्टा हजारौँ खने ।।

 

चौरासी अनुहार छन् मुलुकमा सौभाग्यशाली भने–

थोत्रा चप्पल लाउने हजुरिया संभ्रान्तशाली बने ।

त्यस्ताका दलमा दलाल भरिए गाली तमासै भयो

हाम्रो देश दलालका पहुँचमा नाली समानै भयो ।।

 

नौटङ्की रसरागमा फनफनी सत्ता घुमेको छ नि !

दोहोरी रण–नीतिमा रहरिलो गिर्दै गयो जीवनी ।

मारामार पछाएरमा छ घुइँचो मानौँ महाभारत

यस्तो हालतमा पुग्यो मुलुक यो बेहाल भो हालत ।।

 

२०७७ फागुन ३

नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend