जन आकाश
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ आइतबार विहान आफ्नै निजी निवास बुढानिलकण्ठमा लोकार्पण गरेका हुन् ।

२० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसावले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज÷अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए ।
महतले भने, ‘यसकिसिमका अनुसन्धानले नेपालको साँस्कृतिक समृद्धिमा जोड पुग्नेछ । यस्ता खोज अनुसन्धानहरुलाई नेपाली काँग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ , यसकिसिमका खोज÷अनुसन्धान गर्नेलाई उचित मूल्यांकन समेत पार्टीले गर्नेमा विश्वस्त छु ।’
प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकैठाउँमा उतार्नु भनेको चानचनुने कुरा नभएको बताउँदै भने, ‘यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको कोर्समै स्थान दिनुपर्छ त्यसको लागि सबै तर्फबाट पहलकदमी आवश्यक छ ।’
सभापति देउवाले कार्यक्रममा पुस्तक लेखक श्रेष्ठलाई बधाई दिँदै संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताए । उनले नेपाल विभिन्न जातजातीको फूलबारीको रुपमा रहेको र साँस्कृतिक मिलापले एकतावद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सहअस्तित्वलाई स्वीकारेको बताए ।

पुस्तकमा आठ पहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुषन्धान मुलक लेखहरू रहेका छन् । ५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend