जन आकाश
गोविन्द विक
कसले सुन्छ र यहाँ………………
कुम्ल्याउनु पनि सिमा हुन्छ नी गाँठे
करोडौको सुन चाँदी जोडेका छन
भ्रष्टचारको काउछोलाई डिएपी हालीहाली गोडेका छन ।।
कसले सुन्छ र यहाँ ?
विविधता हैन विचित्रता देखिदैछ
नियति हो की भवितव्य हो
सग्लो उडेको जहाज आकासमै टुक्राटुक्रा भाको छ
घुस र कमिसनको चटयाङले
जनताको सातो गाको छ
कसले सुन्छ र यहाँ ?
आमरण अनसन बस्नेको ताँती छ
देश हाक्ने ठूलेहरुको न काम जाती न बोल्नमा भाँती छ
कसले सुन्छ र यहाँ ?
दिनकै लाखौँ पैसा क्यासिनोमा चढाउनेहरु पनि यही छन
राम्रो काम गर्नेलाई औलो ठडाउनेहरु पनि यही छन
उछिनो भनेर छिर्केनी लगाइ लडाउनेहरु पनि यही छन
कसले सुन्छ र यहाँ ?
रुद्रमती र विष्णुमती नामैले भुतुक्कै बनाउँछ
नाकमा फेसो नठोकी हिँडन सकिन्न परैबाट डुङडुङती गनाउँछ
खोलामा फोहोर नफाल्न कसले रोक लगाउने
राजनीति हैन रणनिति हो अपराधीलाई प्रहरीले नै भगाउने
कसले सुन्छ र यहाँ ?
हे भगवान कोरोना रोक्न नेताको ध्यान मोडिदेउ
सहनै कठिन भइसक्यो नसक्ने भए विसालु बमै छोडिदेउ
नेता सत्ता कचहरीमाभुलेका छन
जनता अक्सिजनको खोजीमा डुलेका छन
यो कस्तो दिन आयो उपचारै नपाइ मर्नुपर्ने
जति बैमान गरेपनि यिनै नेतालाई ढोग गर्नुपर्ने
जति बैमान गरेपनि यिनै नेतालाई ढोग गर्नुपर्ने
कसले सुन्छ र यहाँ ???
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend