जन आकाश
भो कमरेडहरु हो
मिठा कुरा गरेर
सुनौलो सपना देखाएर
झुपडीमा चुलो बल्दैन
भुईमान्छेहरुको शरिर ढाकिदैन
गरिबको चुहेको छाना टालिदैन
तिम्रो समाजवादको भाषणले
धेरै ठुलेहरु बेरोजगार भए
तिम्रो साम्यवादको नाराले
समाजमा न्याय र समानता आएन
तर पनि,
सोझा मान्छेहरुलाई अझै
दिनमा तारा देखाउन छोडेनौ
रातमा मशाल थमाउन बिर्सेनौ,
भो कमरेडहरु हो
झुटो क्रान्तिको नारा बोकेर
सपनाहरु मात्र बाडिरहन्छौ ।
आँशु पिएर बाँच्ने
दुरदराजका बस्तिहरुमा
नागरिकहरुलाई उचाल्यौ
हनुमानले सुमेरु पर्वत उचाले झै
जब तिमी माथि सत्तामा पुग्यौं
तब तिमी मौसम जस्तै बदलियौ
सहिदको रगतसँग सत्ता साट्यौ
जनताको विश्वाससँग शक्ति साट्यौ
अनि
आन्दोलनको कथा,व्यथा भुलेर
ऐस,आराममा रमायौ
आफै उठेको धर्तीमा
गोलि र डोजर चलायौ ।
गरिबको चुलो बालिदिन्छु भन्नेले
साँच्चै घरको धुरी जलाई दिए,
भो कमरेडहरु हो
झुटो सपनाको खेती चाहिदैन
तिम्रा खिया लागेका विचारहरु
गाउँ बस्तीमा गएर
भुईमान्छेहरुसँग अर्जाप्ने गर
नत्र
तिम्रा सपनाहरुले नै तिमीलाई
यो देशमा सुकुम्बासी बनाउछ ।
जसरी तिमीले,
कैयौंका घरबार रित्यायौ
लाखौं आमाका काख उजाड्यौ
देशका युवा रित्याउदै
विदेशमा धकेल्यौ
विकाशका नाममा देशमा
भ्रष्टाचारको आंतक मच्चाएर
देशलाई नै दाउमा राखेर
कति राजनीतिको जुवा खेलिरहन्छौ,
भो कमरेडहरु हो
कति सकुनी बनि रहन्छौ ।
हामी विशेष धातुले बनेको भनेर
झुटो हौवा पिटिरह्यौ
हामी चुपचाप सुनिरहयौ
नक्कली सुनमा रङ उढे जस्तै
तिम्रा विचारको रङ उढिसक्यो
अझै कति आश्वासनको
कोसेलीहरु बाँडिरहन्छौ
हामीलाई पत्थर ठानेर,
त्यो दिन अवश्य आउछ
सुन कमरेडहरु हो
तिमीहरूले बनाएको विचारको बाटोमा
तिम्रै समशानघाट हुनेछ
तिमीहरूले बोलेका भाषणमा
तिम्रै पतनको सन्देश आउनेछ,
त्यसैले
भो कमरेडहरु हो
बाटो विराउने नाटक नगर
सत्ता र शक्तिमा अन्धो नबन
जनतालाई सधैं रैती नठान
नत्र भने
हाम्रा भाग्य र भविष्यमा खेलबाड गरिरह्यौ भने
काख र बस्ति उजाडिए जस्तै
तिम्रो सारा संसार उजाडिनेछ
तिमीलाई सपना झै लाग्नेछ
जनता अब नागरिक भइसके
त्यसैले भो कमरेडहरु हो
आगो र बन्दुकसँग जस्तै
देश र जनतासँग
पौठेजारी खेल्ने दुस्साहस नगर
त्यो दिवास्वप्न देख्न छोडिदेउ
यो हाम्रो युग हो
यो हाम्रो माटो हो
यो हाम्रो जीवन हो
भो कमरेडहरु हो
आमाको अस्मिता बेचेर
उत्सव मनाउने दिन गइसके
यो स्वर्गको देशमा
धेरै भ्रमको खेती नगरौ । ।
प्रेमा संगम
कालिन्चोक ( ६,दोलखा
हाल काठमाडौ,कोटेश्वर
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend