logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सुसेली मञ्च नेपालको सोह्रौं कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, साउन १८ २०७८

 



काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०७८ साउन १६ गते शनिबार सोह्रौं अनलाइन कार्यक्रम अन्तरगत बर्षा ऋतु र स्वतन्त्र लयमा सुसेली गायन तथा वाचन सम्पन्न भएको छ ।

सुसेली मञ्चका संस्थापक तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको संयोजन तथा सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता तथा नोवेल साहित्य संस्थाकी सचिव सुशीला ढकाल अधिकारीले गर्नु भएको थियो।

वर्षा ऋतु विशेष सुसेली गायन र वाचन कार्यक्रममा सरिक २६ जना कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, भजन र दोहोरीका लयमा रचना गरि वर्षा ऋतुको महत्त्व र महिमा, दही चिउरा, खेतीको महत्त्व र खेतीमा आइपरेका समस्या, बाडीले ल्याएको विपत्ति र खेतीपाती सम्बन्धि समसामयिक  व्यंग्यात्मक सुसेलीहरू गाउनु र वाचन गर्नु भएको थियो ।

कार्यक्रममा सुसेलीको अभियानमा प्रमुख भुमिका निर्वाह गर्नुहुने सुसेली अभियन्ता दामोदर ढकालले सुसेलीको परिचय र स्थापना देखि अहिलेसम्म हुँदै आएको प्रगति विवरणमा प्रकाश पार्नु हुँदै कार्यक्रममा सहभागी सबैको स्वागत गर्नुभएको थियो । यसैगरी आफुले रचना गरेका १० वटा वर्षा विशेष र समसामयिक सुसेलीहरू पुर्वीया लयमा गाएर सुनाउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि तेजप्रकाश बानियाँले सुसेली हाम्रो पौराणिकता र संस्कृतिसंग जोडिएको आफ्नै नेपाली मौलिक त्रिपदीय लोकलयको विधा भएको र हामीले अन्य विदेशी विधाको नक्कल नगरी आफ्नै मौलिकता र परंरागत सम्पत्तिको जगेर्ना गर्न सुसेलीको अभियानमा सकेको योगदान गर्दै आइरहेको र अब पनि स्वास्थ्यले साथ दिए सम्म लागिरहने प्रतिबद्धता जनाउँदै आफ्ना समसामयिक १० सुसेलीहरू लोकलयमा गाएर सुनाउँदै जय सुसेलीको नारा सहित विदा हुनुभयो ।

यसैगरी अर्का विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले पहिलोपटक सुसेलीको मञ्चमा आएर सुसेलीहरू सुन्दा र सुनाउँदा आनन्द आएको र यो सुसेली विधाले छोटो समयमा नै आफ्नो पहिचान बनाउन सकेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण सुसेली अभियन्ताहरूमा धन्यवाद तथा बधाई दिदै आफूले रचना गरेका समसामयिक सुसेलीहरू गाएर सुनाउनु भयो ।

यस्तै अर्का विशिष्ट अतिथि खोलाघरे साहिँलोले कार्यक्रममा छोटो समयका लागि उपस्थित भएर धेरै स्रष्टाका सुन्दर सुसेलीहरू सुन्ने अवसर जुरेकोमा खुसी व्यक्त गर्दै संसार डुलेर आएको सुसेली हाम्रो आफ्नै भएको चर्चा गर्नुभयो र बर्षामासमा देखिने प्राकृतिक सुन्दरताको बर्णन गरिएका १० वटा सुसेलीहरू गाएर सुनाउनुभयो ।

अर्का विशिष्ट अतिथि तिलकप्रसाद लुइँटेलले नेपालीका हरेक ऋतुहरूले सांस्कृतिक महत्त्व बोकेका छन । त्यसमा पनि वर्षा ऋतुको छुट्टै महत्त्व रहेको छ । यसरी विषयगत सुसेलीको कार्यक्रम गर्नु अत्यन्तै राम्रो कुरा हो । सुसेलीको नामाकरण गर्दा आफ्नो पनि संलग्नता र अनुमति रहेको स्मरण गर्दै अब सुसेलीले हाँगा हाल्दै आफ्नो व्यापकता तिर ध्यान दिने र आफ्नो छुट्टै पहिचान बनाउँदै अगाडि बढ्नुपर्ने समय आएको बताउनुभयो ।

अर्का विशिष्ट अतिथि डा. शैलेन्दुप्रकाश नेपालले सुसेली प्रेमी भएको नाताले सुसेलीको सम्रक्षण, सम्बर्द्धन र परिमार्जन गर्दै यो विधालाई व्यापक बनाउन जे जस्तो सहयोग गर्न तत्पर रहेको र साहित्यकारहरूले अनुप्रासमा ध्यान दिँदै उच्चस्तरीय सुसेलीहरू लेख्न आग्रह गर्नुभयो ।

लघुविधा सुसेली लेख्न सजिलो भएता पनि सत्र अक्षरमा गहन, भावपुर्ण, सन्देशमुलक एउटा महाकाव्य नै तयार गर्न सकिने भएकोले अत्यन्तै सावधानीपुर्वक कलम चलाउनु पर्ने कुरमा ध्यान जानुपर्ने बताउँदै आफूले रचना गरेका १० वटा वर्षा ऋतु र समसामयिक विषयका सुसेलीहरू काँठे भाका र पुर्वीया लयमा गाएर सुनाउनुभयो ।

कार्यक्रमको समापन हुनु पुर्व सुसेलीका अर्का अभियन्ता लक्ष्मीप्रसाद मिश्रले कार्यक्मलाई भव्य र सभ्य बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसरी पाँचजना विशिष्ट अतिथि सहित २६ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्न पाएकोमा आफुलाई अत्यन्तै खुसी लागेको र विशिष्ट अतिथि ज्यूहरूबाट सुसेली विधाको लागि अत्यन्तै अनुकरणीय शिक्षाप्रद उपयोगी भनाइहरू प्राप्त भएको हुँदा आफूले धेरै भनिरहनु नपर्ने विचार व्यक्त गर्दै कार्यक्रमलाई भव्य तथा सभ्य तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सभापति दुर्गा अधिकारी भमरकोटेले पाकेको राम्रो फलमा नै झटाराहरू आउने भएको हुँदा कसैको नाकारात्मक टिप्पणीले सुसेलीका स्रष्टाहरूमा झनै साकारात्मक उर्जा मिलेको छ भन्दै कार्यक्रममा प्रस्तुत भएका प्रत्येक कविका सुसेलीका कुरा सुसेलीमा गाउदै कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रममा उपस्थित सहभागी अतिथि कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि तीला लेकाली,भवानी पन्त, विमुन्स पौडेल, कल्पना देवकोटा, सीता विष्ट कार्की, सुरेशचन्द्र घिमिरे, चन्द्रा न्यौपाने, निर्मलरमण पराजुली, द्वारीका कुईकेल, उर्मिला पन्त, चन्द्रावती अधिकारी, घनश्याम पौडेल, ओमप्रसाद कोइराला, कृष्ण केसी, वासुदेव ठकुरी सहित जम्मा २६ जना सहभागी हुनु भयो । केही सहभागी कवि साहित्यकारहरूले समयाभाव र प्रविधिका कारण आफ्ना सुसेलीहरू प्रस्तुत गर्न असमर्थ रहनु भएको थियो । सुसेलीको आगामी कार्यक्रम भदौ १९ गते शनिबार दिनको ठीक ४ बजे तीज विशेष हुनेछ अग्रिम जानकारी समेत दिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend