जन आकाश
सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना माथि अर्को आर्थिक अनियमितताको आरोप लागेको छ । बोर्डको संचालक समितिले जडिबुटीमा जग्गा खरिद गर्ने भनेर संचालक समितिबाट नै निर्णय गराएर जग्गा खरिदको लागि सम्पूर्ण रकम बुझाईसकेको तर ५ महिना बित्दा पनि जग्गा बोर्डको नाममा नामसारी नभएपछि उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको हो ।
बोर्डको संचालक समितिको बैठकले निर्णय गरि जडिबुटीको ७ रोपनी जग्गा खरिदको लागि एकमुष्ट ४२ करोड ५६ लाख रुपैयाँ गत गत चैत्र ३ गते नै बुझाई सकेको छ । तर पैसा बुझाएको साढे ५ महिना भईसक्दा पनि आजको मितिसम्म उक्त जग्गा बोर्डको नाममा आएको छैन ।
उक्त जग्गामा उपत्यका विकास प्राधिकरणको समेत स्वामित्व भएको पाईएकोले जग्गा बोर्डको नाममा नआएको स्रोतको दाबी छ । स्रोतका अनुसार बोर्ड अध्यक्ष ढुंगानालाई त्यस जग्गामा प्राधिकरणको स्वामित्व रहेको जानकारी थियो । तर उनले दबाब दिई पैसा भुक्तानी गरेको आरोप उनी माथि लागेको छ ।
स्वामित्वलाई देखाएर जग्गा पास नगराउने र ४२ करोड ५६ लाखको ब्याज मिलिजुली खाने गरि सेटिङ मिलाएको आरोप ढुंगानामाथि लागेको हो । ७ प्रतिशतले ब्याज गणना गर्दा पनि बोर्डलाई दैनिक रुपमा ८१ हजार बढी ब्याज आम्दानी गुम्छ ।
बोर्डका प्रवक्ता निरज गिरीले प्राधिकरणलाई रकम भुक्तानी गरिएको र तर स्वामित्व विवादका कारण उक्त जग्गा बोर्डको नाममा आउँन नसकेको स्वीकार गरेका छन् । प्राधिकरणले स्वामित्व विवाद समाधान गरेर जग्गा बोर्डको नाममा पास गर्ने प्रतिवद्दता जनाएकोले ढिलो चाडो जग्गा बोर्डको नाममा आउने उनले बताए ।
के भन्छ प्राधिकरण ?
उपत्यका विकास प्राधिकरणका प्रवक्ता घनश्याम पौडेलले त्यहाँ मनोहरा एकिकृत जग्गा एकिकरण आयोजना संचालन भईरहेको जग्गा पास रोकिएको बताए । उनका अनुसार प्राधिकरण कै स्वीकृतिमा काठमाडौँ महानगरपालिकाले अर्को आयोजना संचालन गरेको छ । प्राधिकरणले त्यहाँ १५–१६ रोपनी जग्गा प्राधिकरणको नाम किनेको र त्यस मध्ये बोर्डलाई ४ रोपनी जति जग्गा बिक्रि गर्ने निर्णय भएको उनले बताए ।
महानगरले योगदान प्रतिशत कटाउदा सबै जग्गा बोर्डको नाममा जाने भएकोले योगदान प्रतिशत नकटाउन महानगरसंग समन्वय भईरहेको उनको भनाई छ । उनले भने बोर्डलाई भनेको जति बिक्रि गर्दा हाम्रो प्राधिकरणको नाममा नै जग्गा नहुने र प्राधिकरण नै सुकुम्वासी हुने अवस्था आयो, त्यहि भएर हामीले महानगरलाई योगदान प्रतिशतलाई पुनर्विचार गर्न आग्रह गरिरहेका छौ । यस विषयमा महानगरका मेयर विद्यासुन्दर शाक्यसंग पनि छलफल भईरहेको उनको भनाई छ । यसको लागि महानगरसंग वार्ता भईरहेको उनले बताए ।
ढुङगानाले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend