logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

गगन थापाको निर्देशन: नेताको स्वागतमा खादामाला बोकेर विमानस्थल नआउनू


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता तथा कार्यकर्तालाई कार्यशैली र सोच बदल्न आग्रह गरेका छन्। नेताहरू विमानस्थल आउँदा खादामाला लिएर स्वागत गर्न जाने परम्परा अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले आमनागरिकसँग सहज रूपमा घुलमिल हुनुपर्ने बताएका छन्।



बीपी स्मृति पुस्तकालय पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले नेता आउँदा कार्यकर्ताहरू लाइन लागेर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न जाने प्रवृत्तिले आमनागरिकमा नकारात्मक सन्देश जाने बताए। ‘हामीले निर्देशिका नै बनाएर पठाएका छौँ। नेता आउँदा लाइन लगाएर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न आउने होइन,’ उनले भने, ‘नेतालाई स्वागत गर्न आउनेको भीड देख्दा पनि मानिसहरूलाई दिक्क लाग्छ होला नि!’

सोमबार पोखरा विमानस्थल पुगेका थापा त्यसपछि स्याङ्जा गएका थिए। सोही क्रममा देखिएको घटनालाई स्मरण गर्दै उनले कांग्रेस सभापति आएको भन्दै एक जना वृद्ध बाटोमा बसेर गाडी गनिरहेको प्रसंग सुनाए। ‘कांग्रेस सभापति आएको भनेर एक जना वृद्ध बाटोमा बसेर गाडी गन्दै हुनुहुन्थ्यो। २१, २२, २३ भनेर गनेको के भन्दा गाडी। गाडीका ताँती,’ उनले भने, ‘यस्ता साना कुरा हुन् तर बदल्नुपर्छ।’

नेताहरू आमनागरिककै बीचमा रहेर उनीहरूका समस्या र कुरा सुन्न सक्ने वातावरण बनाउनुपर्ने थापाको भनाइ थियो। सभापति भन्दैमा छुट्टै राख्ने र भेट्न आएका मानिसलाई धकेल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताए।

यसैबीच, सभापति थापाले आगामी मंसिर महिनाभर पार्टीको अभियान सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन्। पहिले कांग्रेसमा रहेका तर पछिल्लो समय अन्य पार्टीलाई मतदान गरेका मतदातालाई पुनः पार्टीसँग जोड्न संवाद र भेटघाट आवश्यक रहेको उनले बताए। उनले केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित गाउँगाउँमा खटाउने पनि जानकारी दिए। अब केन्द्रीय सदस्यहरू काठमाडौंमा मात्र सीमित नभई जनतामाझ पुग्नुपर्ने उनको भनाइ थियो।

‘एक जना पनि केन्द्रीय सदस्य साथीलाई काठमाडौं बस्ने अवस्था आउन दिन्नँ, सबैलाई तल पठाउने हो, गाउँगाउँमा,’ थापाले भने। आगामी निर्वाचनका उम्मेदवार केन्द्रबाट मात्र छनोट गर्ने नभई सम्बन्धित तहका नेता तथा कार्यकर्ताले नै तय गर्ने उनको भनाइ थियो। पार्टीको विधानमा समेत सोही व्यवस्था रहेको उल्लेख गर्दै उनले उम्मेदवार बन्न चाहने नेता तथा कार्यकर्तालाई केन्द्रमा मात्र सीमित नभई सम्बन्धित क्षेत्रमा पुगेर काम गर्न आग्रह गरे।

सभापति थापाका यी अभिव्यक्तिले कांग्रेसभित्रको कार्यशैली परिवर्तन, जनतासँगको सम्बन्ध विस्तार र संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने विषयलाई प्राथमिकता दिएको देखिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend