जन आकाश
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने उद्देश्यले यस सहकार्यलाई महत्त्वपूर्ण रूपमा लिइएको बैंकले जनाएको छ।
एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता प्रदान गरेको छ। यससँगै प्रतियोगितामा खेलाडीले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछन्। यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न र खेल जीवनको आधिकारिक अभिलेख निर्माण गर्न थप अवसर प्रदान गर्नेछ।
एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। टोलीको सफलताले नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रियता बढाउनुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई समेत उजागर गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत बैंकले जर्सीमा आफ्नो लोगो राख्ने कार्यमा मात्र सीमित नभई क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरेको बैंकले जनाएको छ। ग्राहककेन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको बैंकले यस साझेदारीलाई नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने र समुदायसँगको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ।
बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालासँगको सम्बन्ध सुदृढ गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend