logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गर्न सफल भएको छ।



बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक’ अवार्ड प्राप्त गरेको थियो। थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई मूल्याङ्कनका मुख्य आधार बनाउँदै बैंकलाई सम्मानित गरेको जनाएको छ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। सम्मानित संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बैंकहरू रहेका छन्।

लगातार तेस्रो वर्ष प्राप्त यस सम्मानले बैंकलाई थप उत्कृष्ट, प्रविधिमैत्री र ग्राहकमुखी सेवा प्रदान गर्न प्रोत्साहित गरेको ग्लोबल आइएमई बैंकले जनाएको छ। बैंकले आफ्नो प्रगतिमा सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंकले हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले यी सञ्जालमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend