logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।



दिनको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेको कप्तानीमा विराटनगर मैदान उत्रनेछ। मार्की खेलाडीसमेत रहेका सन्दीपको नेतृत्वमा विराटनगर प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

यता, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज पनि जित निकाल्दै प्रतियोगितामा बलियो उपस्थिति जनाउन चाहन्छ। विराटनगरविरुद्ध मैदान उत्रँदा चितवनको प्रदर्शनमा समर्थकको विशेष चासो रहनेछ। यसअघि एनपीएलका दुई सिजन खेलाडीका रूपमा सहभागी भएका सोहेल तनविर यसपटक चितवनको प्रशिक्षकका रूपमा छन्। उनको प्रशिक्षणमा चितवनले कस्तो प्रदर्शन गर्छ भन्ने विषय पनि चासोको केन्द्रमा रहनेछ।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली जनकपुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ।

पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्स भने यसपटक पनि सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि यात्रालाई अघि बढाउन चाहन्छ।

आजका दुवै खेलले एनपीएलमा टोलीहरूको सुरुवाती लय र प्रतिस्पर्धात्मक क्षमता देखाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend