जन आकाश
छन्दः (शार्दूलविक्रीडित) सरू बस्नेत
शीर्षकः योगमाया
जन्मेकी सुरभूमि भोजपुरमा यी योगमाया पनि
आफ्नो साहसले सधैँ लडिरहिन् क्या शक्तिशाली बनी ।
नारीको अधिकार निम्ति बलियो आवाज ल्याइन् कति
छर्दै ज्योति भरेर धैर्य मनमा सङ्घर्ष गर्देै अति।।१।।
राणा शासनको कठोर बलमा एक्लै लडिन् के गरी
सुन्दैमा मन यो चिसो हुन गयो आफैँ म लड्थेँ हरि।
पापी तन्त्र थियो सुनेन छ कठै१के हार मान्थिन् डर
के लाग्थ्यो नसुने जसो गरिदिने झुक्नै परेथ्यो शर।।२।।
साह्रै स्वार्थ चिठी दिने हजुरमा जस्तै पर्यो नाङ्गिन
रातारात गरी झनै चलिरहिन् निद्रा जितेरै किन
आफैँ हाजिर रत्नपार्क छ जहाँ भेला गरी साथमा
पौवामा कति रात ती बितिगए च्याँपी चिठी हातमा ।।३।।
आफ्ना लागि कतै थिएन बिचरी संघर्ष त्यो कालमा
साँच्चै साहस योगदान उनको चर्चा छ नेपालमा।
पीडादायक यी कथा नयनले रोकिन्छ पढ्दा पनि
हाम्रा निम्ति जुधेर देह कसरी त्यागिन् बुझौँ जीवनी ।।४।।
जागौँ जाग भनेर तत्पर रहिन् यो देशकै खातिर
भोग्दैछौँ उनको समाधि पछि यो स्वप्ना यहीँ आखिर।
ईच्छाशक्ति भयो भने शिखरमा गाह्रो छ के उक्लिन
ढिक्का एक मिले यहाँ नसकिने केही कतै देख्दिनँ।।५।।
नामः सरू बस्नेत
ठेगानाः निजगढ ,बारा
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend